११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई महेशको चुनौती: ‘लाचार र निरीह, ताकत छ भने ओलीलाई समाउ’

नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्रीलाई लाचार र निरीहको संज्ञा दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न चुनौती दिएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सामाजिक सञ्जालमा ओली माथि आक्रमणको योजना बनाउने समूहसँग गृहमन्त्रीको साठगाँठ रहेको आरोप लगाउँदै यस्तो लाचार गृहमन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताए।

आफ्नो सम्बोधनका क्रममा बस्नेतले जेन-जी नाम दिइएका केही युवाहरू आफूलाई भेट्न आएको र उनीहरू क्याप र मास्क लगाएर डराउँदै आएको प्रसङ्ग उल्लेख गरे।

ती युवाहरूले आफूहरूलाई गृहमन्त्री र प्रधानमन्त्रीका सल्लाहकार अजयभद्र खनालले प्रयोग गरेको र विवेकशील पार्टीका नेता रवीन्द्र मिश्रसँग पनि सम्पर्कमा रहेको बताएको बस्नेतले दाबी गरे।

बस्नेतका अनुसार ती युवाहरूले काठमाडौंका मेयर बालेन शाह र अभियन्ता सुदन गुरुङलाई तल झार्ने योजना बनाइरहेको र त्यसका लागि आफूहरूलाई प्रयोग गर्न खोजिएको गुनासो गरेका थिए।

‘एउटा साथीले हाम्रो अगाडि फोन गर्छ, क्याप लाएर, मास्क लाएर। ए भाइ मास्क त खोल न भन्दा कोठाभित्र पनि खोल्दैन,’ बस्नेतले भने, ‘उनीहरूलाई यति आतंकित बनाइएको छ।’

ती युवाहरूले गृहमन्त्रीलाई फोन गरेर आफूहरूमाथि अन्याय भएको बताएको र गृहमन्त्रीले निर्दयी जवाफ दिएको पनि बस्नेतले दाबी गरे। ‘यस्ता ल्याङ्‌ग्रे, यस्ता लाचार गृहमन्त्री भएको देशमा सुशासनको कल्पना गर्ने हामीले ?’ बस्नेतले प्रश्न गरे।

यसअघि सामाजिक सञ्जाल डिस्कोर्डमा केही व्यक्तिले अध्यक्ष ओलीसहित शीर्ष नेतामाथि आक्रमणको योजना बनाएको दाबी गर्दै ती योजना बनाउने ‘लुसिफर’ हरुलाई अचार बनाइदिने चेतावनी दिएका थिए।

‘हामी आतंकवादी समूह होइनौँ, हामी राजनीतिक संगठन हौँ,’ उनले भने, ‘तर हाम्रो विरुद्ध अट्याक गर्न आउँछ भने प्रत्याक्रमण गर्नु हाम्रो नैसर्गिक अधिकार हो।’

प्रकाशित: २३ कार्तिक २०८२ १६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App