नेपाली कांग्रेसको १५ औँ महाधिवेशन मितिको विवाद आधिकारिक रूपमै केन्द्रीय समितिमा प्रवेश भएको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पुसमा महाधिवेशन गर्ने प्रस्ताव राखेपछि ‘काउन्टर’मा संस्थापन पक्षका सह–महामन्त्री महेन्द्र यादवले वैशाखको महाधिवेशन प्रस्ताव राखेका छन्।
महामन्त्री थापाले पुसको १६ गते देखि १९ गतेसम्मको महाधिवेशन प्रस्ताव राखेका थिए। जुन यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि प्रस्ताव गरिरहेको मिति हो।
महामन्त्री थापाले उक्त प्रस्ताव राखे लगत्तै सहमहामन्त्री यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याएका छन्।
संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा केन्द्रीय हुनुपर्ने भन्दै त्यसअघि महाधिवेशन गर्न नसकिने अडान राखेको छ। महामन्त्री थापाले प्रस्ताव गरेको पुसको मितिको समयमा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय पर्ने देखिन्छ।
प्रकाशित: १८ कार्तिक २०८२ १५:४९ मंगलबार





