१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

माघ १ नेपाली राजनीतिको कालो दिन पनि हो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १ गतेलाई नेपालीहरूले तरुल र घिउचाकु खाएर रमाइलो चाडका रूपमा मनाउने गरे पनि नेपाली राजनीतिक इतिहासमा यो दिन निकै दुखद र कालो दिनका रूपमा रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित ४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले ४२ वर्षअघि आजकै दिन (२०४० साल माघ १ गते) तत्कालीन पञ्चायती शासकले सिन्धुपाल्चोकको पिस्करमा क्रूर दमन गरी निहत्था नागरिकको हत्या गरेको घटना स्मरण गरे।

ओलीले भने, ‘आज माघे सङ्क्रान्ति, तरुल र घिउचाकु खाने दिन। तर ४२ वर्षअघि पिस्कर महादेवस्थानमा लागेको रमाइलो मेलालाई तत्कालीन पञ्चायती शासकले रगतको होलीमा परिणत गरिदिएका थिए। गाउँलेहरू रमाइलो गर्न जम्मा भएका थिए, तर शासकहरूले निहत्था जनतामाथि गोली बर्साएर उत्सवलाई शोकमा बदलिदिए।’

उनले पिस्कर काण्डमा जनताको खुसी खोस्ने र उनीहरूलाई सधैँ दुःखी राख्न चाहने दुष्टहरूको क्रूरता प्रदर्शन भएको बताए। ‘त्यसबेला गाउँ गरिब थियो, तर संस्कृति र सभ्यतामा धनी थियो। त्यो खुसी पञ्चायतलाई सह्य भएन र विश्वासघाती आक्रमण गरियो,’ उनले थपे।

अध्यक्ष ओलीले झापा विद्रोह, पिस्कर काण्ड र छिन्ताङ हत्याकाण्ड एउटै दमनकारी शृङ्खलाका उपज भएको बताए।

उनले भने, ‘२०२७ सालदेखि सुरु भएको झापा आन्दोलन र त्यसपछिका संघर्षहरूलाई दबाउन पञ्चायतले बर्बरतापूर्ण दमन गर्‍यो। २०२९ साल फागुन २१ गते सुखानीमा पाँच जनालाई गोली हानी मारियो, त्यसपछि छिन्ताङ र पिस्करमा पनि त्यस्तै नरसंहार मच्चाइयो।’

उनले पिस्कर काण्डमा मारिएका सहिदहरू वीरध्वज देउजा, इले थामी लगायतलाई स्मरण गर्दै उनीहरूको बलिदानले नै आजको लोकतन्त्र सम्भव भएको बताए।

ओलीले नयाँ पुस्ताले इतिहास र बलिदानलाई बिर्सन नहुनेमा जोड दिए। ‘हामीले आफ्नो उमेरसँग इतिहासलाई दाँज्न मिल्दैन। हामी जन्मनुअघि पनि इतिहास थियो, संघर्ष थियो र बलिदान थियो। आज हामीले जे उपलब्धि हासिल गरेका छौं, त्यो अग्रजहरूको रगत र पसिनाको प्रतिफल हो,’ उनले भने।

प्रकाशित: १ माघ २०८२ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App