नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेस सरकारको सत्ता समीकरण फेरिएको छ । जसपा, जनमत, नेपाली कम्युनिस्ट पार्टीसहितको समीकरणको कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको प्रवेशसँगै सत्ता समीकरण फेरिएको हो ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले नागरिकसँग फोनमा भने, ‘मधेस प्रदेश सरकारको सत्ता समीकरण फेरिएको छ । अब कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको प्रवेश भएको छ । जसपा र जनमत समीकरणबाट बाहिरिएका छन् । कांग्रेस नेतृत्वको सरकारलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीको समर्थनसहित सत्ता समीकरण निर्माण भएको छ ।’
मुख्यमन्त्री यादवले भने, ‘सम्भवत: आजै नेकपा एमालेको तर्फबाट मोहम्मद समीर सरकारमा सहभागी हुँदैछन् । उनको सपथग्रहण आजै गराउने तयारी हुँदैछ ।’
हाल मधेस प्रदेश सभामा १०२ सदस्य कायम रहेका छन् । कांग्रेसको २२, एमालेको २४, जनमतको १२, नेकपाको १५, जसपा र लोसपा नेपालको २६, नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १–१ जना सांसद छन् । यसअघि, मधेस प्रदेशसभामा १०७ जना सांसद थिए ।
लोसपाका अभिराम शर्मा र जसपाका सरोजसिंह कुशवाहा निलम्बित छन् भने जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहवर अन्सारी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए । नेकपा एमालेका रामचन्द्र मण्डल पनि प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुँदा प्रदेशसभाबाट राजीनामा गरेका थिए ।
प्रकाशित: ७ जेष्ठ २०८३ २०:३९ बिहीबार





