मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल (सोनार) आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोनाल आज दिउँसो १ बजे प्रदेशमा विश्वासको मत लिने भएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सोनल नेतृत्वमा सरकार बनाउन जसपा नेपाल, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पत्र बुझाएका थिए।
मुख्यमन्त्री सोनललाई लोसपाका ९ सदस्यसहित जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र जनमत पार्टीका १३ गरी ५७ सदस्यको समर्थन रहेको छ। तर जसपाका सदस्य सरोज सिंह र लोसपाका अभिराम शर्मा निलम्बन छन्।
जनमत पार्टीबाट छुट्टिएर गठन भएको जनस्वराज पार्टीमा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले सनाखत गरिसकेका छन्। यी दुई सदस्य विपक्ष मतदान गरे वा तटस्थ बसे भने मुख्यमन्त्री सोनलको समर्थनमा ५३ सदस्य पुग्छन्। १०७ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ सदस्य आवश्यक पर्छ।
प्रदेशसभा प्रतिनिधित्व गर्ने तीनवटा दलका एक-एक सदस्य रहेका दलले मुख्यमन्त्री सोनललाई मत दिने बुझिएको छ।
प्रदेश सभामा सबैभन्दा ठुलो नेकपा (एमाले) र दोस्रो ठुलो दल नेपाली कांग्रेसे विपक्षमा मतदान गर्ने छन्। एमालेको सभामुखसहित २५ र कांग्रेस २२ सदस्य छन्।
प्रकाशित: २२ कार्तिक २०८२ ११:२२ शनिबार





