१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

तीन वर्षपछि पदमुक्त भए मधेस प्रदेशका सभामुख

मधेस प्रदेशले सभामुख रामचन्द्र मण्डलमाथिको अविश्वास प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। बुधबार बसेको प्रदेशसभा बैठकले उक्त प्रस्ताव सर्वसम्मत पारित गरेको हो। सदस्यहरूले धारणा राखेपछि निर्णयार्थ प्रस्तुत प्रस्तावका पक्षमा ७६ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो।

नेकपा (एमाले) का एक मात्र प्रतिनिधि शारदा थापा सरकारको प्रतिनिधि नभएको बैठकले गर्ने निर्णय मान्य नहुने बताउँदै बाहिरिएकी थिइन्। त्यसपछि १० मिनेट स्थगित भएर बसेको बैठकमा उपसभामुख बबिता राउत इशरले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । बैठकमा सात दलका सबै प्रदेशसभा सदस्य उपस्थित थिए। मतदानका क्रममा भने मुख्यमन्त्री र सभामुखको दल नेकपा (एमाले) का कुनै प्रतिनिधिको उपस्थिति थिएन।

बैठकमा अविश्वास प्रस्ताव पारित भएको जानकारी गराउँदै उपसभामुख इशरले सभामुख मण्डल पदमुक्त भएको घोषणा गरेकी थिइन्। नेपाली कांग्रेस प्रमुख सचेतक कुमरकान्त झा प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उपेन्द्र महतो, जवाहरलाल कुशवाहा र राजकुमार गुप्ता रहेका थिए।

कात्तिक २७ गते सभामुखमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यले प्रस्ताव दर्ता गराएका थिए। त्यो दिन सभामुखसँग प्रदेशसभा सदस्यहरूको विवाद भएको थियो।

लगत्तै सभामुख मण्डलले नागरिक उन्मुक्तिका सांसद उर्मिलादेवी सिंह, जसपाका मनीष सुमन, सिंहासन सा कलवार, सञ्जयकुमार यादव र सारदा शंकर प्रसाद कलवारलाई लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै पदमुक्त गरेका थिए। यद्यपि अदालतको आदेशबाट उनीहरूको पुनर्बहाली भइसकेको छ।

मधेस प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले बुधबार नै सूचना जारी गरी सभामुखले पदअनुकूलको आचरण नगरेको भन्ने प्रस्तावका प्रस्तावक कुमरकान्त झाले पेस गरेको प्रस्तावका पक्षमा ७६ मत परेको र उक्त संख्या प्रदेशसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाई बहुमत अर्थात् ७२ भन्दा बढी भएको उल्लेख गरेका छन्।

 प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८० बमोजिम प्रस्ताव सोही नियमावलीको नियम १८२ को उपनियम (४) बमोजिम सभाको दुईतिहाइ बहुमतबाट भई नेपालको संविधानको धारा १८२ को उपधारा (६) को खण्ड (६) को खण्ड (ग) र निमावलीको नियम १८२ को उपनियम (४) बमोजिम सभामुख रामचन्द्र मण्डल स्वतः पदमुक्त भएको उल्लेख छ।

कसले के भने?

बुधबारको प्रदेशसभा बैठकमा लोसपाका सांसद उपेन्द्र महतोले तत्कालीन सभामुख रामचन्द्र मण्डलले प्रदेशसभालाई आतंकित गरेर राखेको आरोप लगाए। कर्मचारीमाथि कुटपिट गरेको र प्रदेशसभा सदस्यको पनि उनीसँग गुण नरहेको सांसद महतोको आरोप थियो। उनले सभामुखमाथि मुख्यमन्त्रीलाई रोस्ट्रम प्रयोग गर्न नदिएको र कार्यसूची उछिनेर सांसदलाई बोल्न दिएको आरोप लगाए।

गत २७ गते सभामुखमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यहरूले प्रस्ताव दर्ता गराएका थिए। त्यस दिन सभामुखसँग प्रदेशसभा सदस्यहरूको विवाद भएको थियो।

सांसद महतोले सभामुख रामचन्द्र मण्डल पार्टीका कार्यकर्ताका रूपमा चल्ने गरेको समेत आरोप लगाए। मण्डलविरुद्ध दर्ता भएको आचरणविरुद्धको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले सभामुख मण्डल पार्टीको हिसाबमा चल्ने गरेको र प्रदेशसभा सदस्यको सभामुख हुन नसकेको उनले बताए।

महतोले मधेस प्रदेशमा तत्कालीन सचिव मनोज गिरीलाई मरणासन्न हुने गरी कुटपिट गरेको सम्झँदै भने, ‘उहाँलाई यसै प्रदेशसभामा मरणासन्न हुने गरी कुटेका थिए। उनी भागीभागी जाने क्रममा बर्दिबासमा पुग्दा प्रहरी लगाएर गाडीबाट उतारेर बाटोमै छाडेका थिए। यो मानवताको गुण हो?’

उनले आजको प्रदेशसभा बैठकमा लाइन काटिएको भन्दै यहाँ सभामुखले कर्मचारी नभई गुन्डा भर्ना गरेको आरोप लगाए। सभामुखले बजेटमा समेत बार्गेनिङ गरेको भन्दै आफ्नो क्षेत्रमा बजेट निकासा नगरे पास हुन नदिने चेतावनी दिएको बताए।

२०७९ माघ ३ मा मधेस प्रदेशको नेकपा एमालेको कोटाबाट रामचन्द्र मण्डल सभामुख निर्वाचित भएका थिए। मत विभाजन एवं हस्ताक्षरमार्फत भएको निर्वाचनमा रामचन्द्रका पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको थियो। मण्डललाई तत्कालीन सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए।

मण्डल धनुषा क्षेत्र नं १ (ख) बाट दोस्रोपटक निर्वाचित सांसद हुन्। त्यतिबेला विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए। मण्डलको प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट जंगीलाल राय सभामुखका उम्मेदवार थिए।

प्रकाशित: ४ मंसिर २०८२ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App