नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको पार्टी एकता केवल तमासा मात्र भएको बताएका छन्।
बिहीबार एमालेको एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षको शपथ ग्रहण गरेलगत्तै सम्बोधन गर्दै ओलीले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी प्रति व्यंग्य गरेका हुन्।
उनले विचार र सिद्धान्त मिलेर नभई दुवै नेतालाई आ-आफ्नो विरासत ‘घाँडो’ भएपछि एकता गरेको टिप्पणी गरे।
‘माओवादी नाम प्रचण्डजीलाई घाँडो भएको थियो, त्यो नाम हटाउनका लागि माधव नेपालसँग एकता गर्नुभयो,’ अध्यक्ष ओलीले भने, ‘उता माधव नेपाललाई आफ्नै पार्टी नै घाँडो भएको थियो, त्यो छुटाउनका लागि प्रचण्डसँग एकता गर्नुभयो। यस्तो तमासा नेकपा एमालेले गर्दैन।’
अध्यक्ष ओलीले एमालेसँग एकता गर्ने हो भने बार्गेनिङ नचल्ने स्पष्ट पारे। उनले अब नाम फेरेर वा पद बाँडेर पार्टी एकीकरणको च्याप्टर बन्द भएको संकेत गरे।
‘पार्टी-पार्टी मिल्ने पार्टी एकीकरण होइन। एमालेको नीति मानेर, नेतृत्व मानेर र एमालेलाई मानेर आउनुहुन्छ भने एमालेमै समाहित हुनुस्,’ ओलीले भने, ‘तर यो नाम र उ नाम राख्ने गरी, भागबन्डा गर्ने गरी अब एकीकरणको वार्ता हुँदैन।’
ओलीले आफूलाई वामपन्थी भन्ने दलहरूको रङ खुइलिसकेको आरोप समेत लगाए। ‘रङ त खुइलिसक्यो, तैपनि वामपन्थी हुँ भन्दै हुनुहुन्छ भने एकछिनलाई मानिदिउँला,’ ओलीले भने, ‘तर कमसेकम वामपन्थी विचार, आदर्श र चरित्र त देखाउनुस्। कुन नम्बरको पदका लागि बार्गेनिङ गर्ने, यसैलाई वामपन्थी भनिन्छ ?’
प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकता भएर बनेको नयाँ दलप्रति लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
प्रकाशित: ३ पुस २०८२ २०:२२ बिहीबार





