महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख संजीवकुमार साहको नेतृत्वमा नगरपालिका कार्यालयसहित सबै वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै नगरप्रमुख साहसहितको टोलीले सोमबार नगरपालिकाका कार्यालयहरूमा तालाबन्दी गरेको हो।
नगरप्रमुख साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावमा प्रशासनिक, वित्तीय तथा विकास निर्माणसम्बन्धी काम प्रभावित भएका छन्। कर्मचारीहरूले समेत तीन महिनादेखि तलबभत्ता पाउन नसकेको उनको दाबी छ।
साहले प्रमुख प्रशासकीय अधिकृत पठाउन सम्बन्धित मन्त्रालयलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताए। उनले तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभए नगरभित्रका स्वास्थ्य तथा शैक्षिक संस्थासमेत बन्द गर्ने चेतावनी दिएका छन्।
उनका अनुसार अधिकृत नहुँदा बैंक खाता सञ्चालनलगायत वित्तीय कामसमेत अघि बढ्न सकेको छैन। दसैँ, तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा कर्मचारीले तलबभत्ता पाउन नसकेको भन्दै समस्या समाधानका लागि दबाबस्वरूप तालाबन्दी गरिएको उनको भनाइ छ।
तालाबन्दी गरिएका नगरपालिका तथा वडा कार्यालयका चाबी भने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाइएको छ।
प्रकाशित: १२ आश्विन २०८३ १५:२५ सोमबार





