नेपाली कांग्रेसको ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दी खुलेको छ। मंगलबार तालाबन्दीकर्ता समूह र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच संवाद भएर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि तालाबन्दी खुलेको हो।
कार्यवाहक सभापति खड्काले चालु केन्द्रीय समिति बैठकबाट १५ औँ महाधिवेशनको मिति तोक्ने, विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने र ४० वर्ष मुनिका ४० प्रतिशत युवा सहभागिताको सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकाले बृहत्तर नेपाली कांग्रेस पार्टीको विधानमा छलफल गरी माग सम्बोधन गर्न प्रतिबद्धता जनाउने विषयमा प्रतिबद्धता जनाएका छन्।
त्यसपछि तालाबन्दी गर्ने समूहका युवाहरूले केन्द्रीय कार्यालयको मूल गेटमा गरेको तालाबन्दी खोलेका छन्।
प्रकाशित: १८ कार्तिक २०८२ १३:४६ मंगलबार





