नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह क्षेत्रमा पर्ने दमक नगरपालिका वडा नं. ३ को चर्चित ‘भ्युटावर’ को नाममा चिनिने विजनेस कमप्लेक्स भएको टोलमा पुगे। त्यहाँ पुग्दा पूर्वप्रधानमन्त्री स्थानीयवासीले स्वागत मात्र गरेनन् मनमा उकुस मुकुस भएका भावनाहरू पोखे।
स्थानीय बिष्णुकान्त न्यौपानेले भ्युटावरतर्फ देखाउँदै भनिन्, ‘हाम्रा आँखै अघि रातभरि झललल बल्ने यस्तो भव्य धरहरा जस्तो भ्युटावर थियो, यसलाई हुलहुज्जत गरेर तोडफोड गरे, जलाए। अहिले त गाउँ नै अन्धकार जस्तो भएको छ।’
उनीसँग रहेकी सरस्वती न्यौपानेले थपिन्, ‘यो देशमा शत्रु लागे हजुर, यस्तो राम्रो भवन जलाई दिए। उता काठमाडौंमा पनि उसै गरे। किन यस्तो भएको हाम्रो देशमा?’ उनीहरूको आक्रोश, गुनासो र भावनाले अध्यक्ष ओलीलाई पनि गम्भीर बनायो।
अन्य स्थानीयवासीहरूले पनि कम्प्लेक्स सर्वसाधारणका लागि खुल्ला भएसँगै स्थानीय स्तरमा व्यवसायीक र आर्थिक चहल पहल बढेको बताए। तर छोटो समयमा नै यसलाई तोडफोड र आगजनी गरिएपछि खुल्दै गरेका आम्दानीका श्रोतहरू पनि बन्द भएको प्रति उनीहरूको चिन्ता थियो। दमक-३ का बासिन्दाले सो विजनेस कम्प्लेक्सलाई पुनः मर्मत गरी सञ्चालनमा ल्याउन जरुरी रहेको बताएका थिए।
अध्यक्ष ओलीले सोमबार समेत दमकका विभिन्न वडा र टोलका मतदाताहरूसँग भेटघाट गरेका थिए। आज (मंगलबार) समेत उनी दमकका विभिन्न स्थानमा हुने भेटघाट र छलफलमा व्यस्त रहेका छन्।
प्रकाशित: ५ फाल्गुन २०८२ १५:०३ मंगलबार





