पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेकी छिन्।
आइतबार नेकपा (एमाले) पार्टी कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको बताइन्।
उनले पछिल्लो समय सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका घटनाले सबैको गम्भीर ध्यानाकर्षण गराएको बताउँदै संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजन फैलाउने गतिविधिबाट टाढा रहन सबै नेपालीलाई आग्रह गरिन्।
प्रत्येक नागरिकले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्दै शान्ति, सद्भाव र कानूनी शासनलाई बलियो बनाउन योगदान पुर्याउनुपर्ने बताइन्।
प्रकाशित: १७ श्रावण २०८३ १६:३२ आइतबार




-600x400.jpg)
