१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गरौँ : शशांक कोइराला

नेपाली कांग्रेसका डा. शशांक कोइरालाले सुनसरीको देवानगन्जबाट सुरु भइ तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको विषम तथा तनावपूर्ण आवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको बताएका छन्।

धार्मिक तथा साम्प्रदायिक संवेदनशीलतासँग सम्बन्धित यो विषम परिस्थितिका बेलामा सम्पूर्ण नेपाली नागरिकहरूमा संयमता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा हार्दिकता कायम राख्न अपिल गर्दै यस्तो बताएका हुन्। उनले यी दुखद घटनामा परि ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, उनले सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कमना समेत गरेका छन्।

'नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र परम्पराले सम्पन्न मुलुक भएकाले यही विविधताका बीचमा हाम्रा पुर्खाले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व कायम गरि सँगै मिलेर बस्ने संस्कृति दिएका छन्,' कोइरालाले सामाजिक सञ्जालमा लेख्छन्, 'यही विविधताबीचको एकता, आपसी सद्भाव, सहिष्णुता र पारस्परिक सम्मान नै हाम्रो देशको राष्ट्रिय पहिचान र गौरवको आधार हो।'

साथै, उनले सम्पूर्ण राजनीति शक्ति, नागरिक समाज तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइमा शान्ति, संयम र भाइचाराको सन्देश प्रवाह गर्न हार्दिक आग्रह गरे।

यस संवेदनशील परिस्थितिमा नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सबै राज्य संयन्त्रले निष्पक्ष, जिम्मेवार र प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष सक्रियता देखाउन आवश्यक रहेको उनको भनाइ छ। साथै, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूले समाजमा विश्वास, सहिष्णुता र सद्भावको वातावरण निर्माण गर्न अग्रणी भूमिका खेल्नुपर्ने बताए।

विशेषगरी नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिँदै समाजमा शान्ति, संयम र भाइचाराको सन्देश प्रवाह गर्ने अभियानमा सक्रिय हुनका लागि पनि आग्रह गरे।

'अन्त्यमा हामी नेपाली आफैँ मिलेर धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाऔँ,' उनले भने, 'नेपाली–नेपालीबीच कुनै प्रकारको वैमनस्यता, विभाजन वा द्वन्द्व होइन, प्रेम, सम्मान र भाइचाराको सम्बन्ध विस्तार गर्ने अभियानमा जुटन सकेमात्र समृद्ध, शान्त र एकताबद्ध नेपालको निर्माण सम्भव भएकाले फेरि एकपटक  संयमता, धैर्यता, आपसी सद्भाव तथा हार्दिकता कायम राख्न अपिल गर्दछु।'  

प्रकाशित: १५ श्रावण २०८३ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App