नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले यसपटकको निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत आउने स्थिति नरहेको बताएका छन्।
बिहीबार बिहान भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो विश्लेषण सुनाएका हुन्।
संयोजक दाहालले यो निर्वाचन सामान्य नभई असहज परिस्थितिमा आयोजना गरिएको असामान्य निर्वाचन भएको बताए। उनले भने, ‘सुरुदेखि नै निर्वाचन नै विकल्प हो भन्नेमा हामी दृढ थियौं। आज मतदान गरेर सफलताको सन्निकट पुग्दा म धेरै खुसी छु।’
उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै यसको नतिजाले देशलाई स्थायित्व र समृद्धिको यात्रामा लैजाने विश्वास व्यक्त गरे।
निर्वाचनको सम्भावित नतिजाबारे सोधिएको प्रश्नमा उनले कुनै एक दलको मात्र बहुमत आउने सम्भावना नदेखिएको प्रस्ट पारे।
‘अहिलेसम्मको समग्र परिस्थिति हेर्दा कसैको बहुमत आउने म देख्दिनँ,’ उनले भने, ‘हाम्रो, कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी गरी चारवटा दलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। पहिलो, दोस्रो को हुन्छ भन्ने कुरा यिनै चार दलको प्रतिस्पर्धाबाट टुंगो लाग्छ।’
पछिल्लो समय चर्चामा रहेको नयाँ र पुराना दल भन्ने भाष्य देशको हितमा नरहेको उनले दाबी गरे। उनले भने, ‘सवाल नयाँ र पुरानाको हुँदै होइन। को सही र को गलत भन्ने मुख्य कुरा हो।’
उनले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा को छ भनेर हेर्नुपर्ने बताए। ‘कसको योजना र कार्यक्रम के छ भनेर हेर्नुपर्छ। त्यसको आधारमा सही र गलत छुट्याउनुपर्छ, नयाँ र पुरानो भनेर होइन,’ उनले थपे।
आफू रुकुम पूर्वबाट उम्मेदवार रहेको जानकारी दिँदै उनले मतदान लगत्तै त्यसतर्फ जाने बताए। उनले आम मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन अपिल गरेका छन्।
‘जति धेरै जनताको सहभागिता हुन्छ, त्यति नै यसले दिने नतिजा स्थायित्वका निम्ति महत्त्वपूर्ण हुन्छ,’ उनले बताए।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:३० बिहीबार





-600x400.jpg)