नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङको समग्र विकासको जिम्मा आफूले लिने घोषणा गरेका छन्।
बुधबार मुस्ताङमा आयोजित पार्टीका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले उम्मेदवार गुरुङलाई जिताएर पठाए केन्द्रबाट गर्नुपर्ने सबै कामको जिम्मेवारी आफूले लिने प्रतिबद्धता जनाएका हुन्।
दाहालले मुस्ताङको भूगोल र यहाँको आवश्यकता आफूले नजिकबाट बुझेको भन्दै मतदातालाई आश्वस्त पारे। उनले भने, ‘तपाईंहरूले मुटुङलाई जिताएर पठाउनुहोस्, उहाँलाई के बनाउनुपर्छ र यहाँको विकासमा के सहयोग गर्नुपर्छ, माथि हेडक्वार्टरबाट गर्नुपर्ने कामको जिम्मा मेरो रहनेछ।’
उनले मुस्ताङमा सडक सञ्जाल विस्तार, अलपत्र परेका पुलहरूको निर्माण, कृषिको आधुनिकीकरण र मुस्ताङी स्याउको बजारीकरणमा आफ्नो विशेष ध्यान रहने बताए।
सम्बोधनका क्रममा दाहालले कोरला नाकामा भौतिक पूर्वाधार निर्माण र सडक स्तरोन्नति आफ्नो प्राथमिकतामा रहेको बताए।
आफू चीन भ्रमणमा रहँदा र प्रधानमन्त्रीको हैसियतमा काम गर्दा कोरला नाका सञ्चालनबारे चिनियाँ नेतृत्वसँग गम्भीर समझदारी गरेको दाबी गर्दै उनले भने, ‘कोरला नाका जोड्ने बाटो र त्यहाँको पूर्वाधार निर्माणमा मेरो विशेष पहल हुनेछ।’
दाहालले मुस्ताङको राजनीतिमा सधैँ तल्लो भेग र थकाली समुदायको वर्चस्व रहने गरेको भन्दै यसपटक माथिल्लो भेग (भोटे/गुरुङ समुदाय) लाई अवसर दिइएको बताए।
‘सधैँ एउटै भेगबाट मात्र प्रतिनिधित्व हुने परम्परा तोड्दै हामीले माथिल्लो भेगका जनताको प्रतिनिधिलाई अघि सारेका छौँ,’ दाहालले भने, ‘म थकाली समुदायका साथीहरू (गौचन, शेरचन) लाई पनि आग्रह गर्छु, यसपटक माथिल्लो भेगको प्रतिनिधिलाई भोट दिएर जिताउनुस्, विकासको जिम्मा म लिन्छु।’
उनले मुस्ताङ युरेनियम जस्तो बहुमूल्य खनिजको सम्भावना बोकेको जिल्ला भएकाले यसको सुरक्षा र विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
साथै, उनले आगामी फागुन २१ गते हुने निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने ठोकुवा समेत गरे।
प्रकाशित: २१ माघ २०८२ १७:४४ बुधबार





