८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

वाम एकताबारे प्रदीपको टिप्पणी: ‘बलियो भए एक्लै लड्थे, कमजोर भएपछि मिले’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हालै भएको विभिन्न कम्युनिष्ट घटकबीचको एकतालाई ‘आवश्यकताको सिद्धान्त’ को उपजको रूपमा टिप्पणी गरेका छन्।

उनले पुराना र परीक्षण भइसकेका नेताहरू मिलेर नयाँ पार्टी बनाएको घोषणा गरे पनि जनताले उनीहरूको व्यवहार र नीतिमा परिवर्तन नभएसम्म विश्वास नगर्ने बताए।

बुधबार नागरिक न्युजको डिजिटल कार्यक्रम ‘फ्रन्टलाइन’ मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरू मिलेर बनेको नयाँ पार्टीबारे सोधिएको प्रश्नमा पौडेलले यस्तो विश्लेषण गरेका हुन्।

‘बलियो भए एक्लै लड्थे, कमजोर भएपछि मिले’

नेता पौडेलले यो एकता दलहरू शक्तिशाली भएर नभई कमजोर भएको कारणले मात्र सम्भव भएको तर्क गरे। ‘माओवादी बलियो हुन्थ्यो भने उसले समाजवादीलाई मिलाउँदैनथ्यो। समाजवादी एकदम बलियो हुन्थ्यो भने माओवादीसँग मिल्दैनथ्यो’, उनले भने, ‘कमजोर भएपछि त मिल्नुपर्‍यो। यो आवश्यकताको सिद्धान्तले निर्धारण गरेको विषय हो।’

उनले यो एकतालाई पुराना नेताहरूले आफ्नो अस्तित्व कायम राख्नका लागि गरेको आन्तरिक प्रयासको संज्ञा दिँदै भने, ‘यो पुराना नेताहरूले आफ्नो अस्तित्व कायम राख्नका निम्ति गर्नुभएको आन्तरिक प्रयास हो।’

पौडेलले पार्टीको नाम र पद फेरिए पनि व्यक्ति उही भएपछि जनताले सजिलै नपत्याउने बताए। उनले नयाँ एकीकृत पार्टीलाई शुभकामना दिँदै जनताको मन जित्न आफ्नो व्यवहार र नीति फेर्न सुझाव दिए।

‘अहिले नेपाली जनताले खोजेको दल र दलको राम्रो व्यवहार गर्ने नेता हो,’ उनले भने, ‘पुराना-पुराना मिलेर, ‘टेस्टेड’ हरू मिलेर हामी नयाँ बनेर आयौँ भनेर मान्छेले पत्याउने स्थिति छैन। उहाँहरूलाई मेरो शुभेच्छा अनुरोध के हो भने व्यवहार फेर्नुपर्‍यो, पार्टीका नीतिहरू फेर्नुपर्‍यो।’

उनले यदि नयाँ पार्टीले साँच्चै राम्रो व्यवहार गर्‍यो र जनताका एजेन्डालाई सम्बोधन गर्‍यो भने त्यसले दशकौँ पुराना पार्टीलाई पनि जित्न सक्ने तर केवल एकताको घोषणाले मात्रै त्यो सम्भव नहुने बताए।

पौडेलले यो एकताले चुनावसम्ममा नेकपा (एमाले) सहितको ठूलो कम्युनिष्ट समीकरण बन्न सक्ने अनुमान गर्ने परिस्थिति निर्माण गरेको बताए।

उनले कांग्रेसका लागि यो एउटा चुनौती भएको स्वीकार गर्दै आफ्नो पार्टीले पनि त्यसैअनुसार आफूलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: १९ कार्तिक २०८२ २०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App