१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

देउवासँग छलफल गर्दै विमलेन्द्र, मिनेन्द्र, बद्री पाण्डेलगायतका नेता

फाइल तस्बिर

यतिबेला नेपाली कांग्रेस भित्र दुई ठाउँमा समानान्तर भेला चलिरहेको छ । महामन्त्री द्वयले आह्वान गरिरहेको विशेष महाधिवेशन भृकुटीमण्डवमा जारी रहँदा सभापति शेरबहादुर देउवाले पनि आफू पक्षीय नेतासँग भेटघाट र छलफल गरिरहेका छन् ।  

विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा देउवाले आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन् । अहिले देउवा निवासमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, बद्री पाण्डे, जीवन परिवयारलगायतका नेता आन्तरिक छलफलमा छन् ।  

देउवाले विशेष महाधिवेशनको बन्दसत्र अघि आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका थिए । यसअघि देउवाले कानुनी पृष्ठभूमि भएका आफू निकट नेता तथा कानुन व्यवसायीसँग पनि परामर्श गरेका थिए।

देउवाको असहमतिकाबीच भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । अपेक्षाभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएपछि नेतृत्व चयनको विकल्पसम्म अघि बढेको देखिएको छ ।

नेतृत्व चयनमा समेत विशेष महाधिवेशन अघि बढ्ने भएपछि देउवा निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू भेला भएका छन् र देउवाले उनीहरूलाई पार्टी एकताका लागि पहल गर्न निर्देशन दिएका छन्।

अहिले भृकुटीमण्डपमा बन्दसत्र जारी रहेको छ । बन्दसत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले साङ्गठनिक तथा समसामयिक प्रतिवेदन पेस गरिसकेका छन् । समूहगत छलफलपछि वर्तमान समिति भंग गरी नयाँ नेतृत्व चयन गर्ने कार्यविधिअनुसार प्रक्रिया अघि बढाउने तयारी छ ।

प्रतिवेदन पेस गर्दै महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबी गरेका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै विधान अनुसार आफूहरूले आह्वान गरेको भन्दै वैधानिक नै रहेको बताए।

‘नेपालको संविधान छ, जुन संविधानमा राजनीतिक दल सम्बन्धी व्यवस्था गरिएको छ। त्यो मध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो। त्यसैले संविधान भन्दा माथि केही पनि छैन। त्यो संविधानको व्यवस्थामा राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था छ। त्यसको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो,’ उनले भने ।

 

प्रकाशित: २८ पुस २०८२ १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App