१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

विद्या भण्डारी पूर्वराष्ट्रपतिमै कायम रहनुभएको भए हुन्थ्यो : एमाले उपाध्यक्ष शाक्य

नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीको सक्रिय राजनीतिमा आएकोप्रति टिप्पणी गरेकी छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यसबारे टिप्पणी गरेकी हुन्। 

'राष्ट्रपति अभिभावक हो, पूर्व नै भए पनि त एकखाले भूमिका त रहिरहन्छ नि त। सक्रिय राजनीतिमा आउने बेलामा सल्लाह गर्नुभएको भए हुन्थ्यो। पूर्वको हिसाबले उहाँ कायमै रहनुभएको भए हुन्थ्यो, पूर्वराष्ट्रपति पनि त महत्त्वपूर्ण जिम्मेवारी हो नि,' उनले भने।

उनले पार्टीको सक्रिय राजनीतिमा आउँदा भण्डारीले 'सल्लाह गरेको भए हुन्थ्यो' भनेर भनिन्। 'व्यक्तिगत रूपमा सक्रिय रूपमा राजनीतिमा आउँछु भनेर भन्नुभएन हामीलाई। गर्नैपर्छ भन्ने पनि भएन तर, सल्लाह गरिएको भए त्यो राम्रो हुन्थ्यो। उहाँ संविधानसभा सदस्य पनि हो, सांसद पनि हो। उहाँ मन्त्री पनि हुनुभयो। संविधान निर्माण गरिरहँदा पनि राम्रै छलफल गर्‍यौँ। राष्ट्रपति हुनुभयो, त्यो पनि दुईपटक हुनुभयो,' उनले भनिन्, 'उहाँले अध्यक्षसम्म भेट्नुभयो, हाम्रो बीचमा कुराकानी भएको छैन।'

उनले राजनीतिमा आइसकेपछि भण्डारीलाई पनि छलफलको विषय बनाउनुपर्ने बताइन्। 'त्यसका लागि वैचारिक रूपले छलफल गरेर जानुपर्छ भन्ने मलाई लाग्छ। अहिलेदेखि पक्ष र विपक्ष लागेरचाहिँ दु:ख लाग्छ,' उनले भनिन्, 'विद्या कमरेड र केपी कमरेड हिजो त मिल्नुभएकै थियो, अहिले के भयो कुन्नि।'

प्रकाशित: ३२ असार २०८२ १९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App