काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले भाषा मौलिक पहिचानको आधार स्तम्भ भएको बताएकी छन्।
प्रदेशवासी तथा सम्पूर्ण भाषाप्रेमीहरूमा भाषा दिवसको शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएकी हुन्। उनले भाषा संवादको माध्यम मात्र नभइ सभ्यता, संस्कृति र सामूहिक स्मृतिको संवाहक पनि भएको जिकिर गरिन्।
हरेक समुदायले आफ्नो भाषा जोगाउन सके मात्र आफ्नो इतिहास, संस्कृति, दर्शन र जीवन पद्धति जोगाउन सक्ने बताइन्। 'प्रदेशवासी तथा सम्पूर्ण भाषाप्रेमी महानुभावहरूमा भाषा दिवसको हार्दिक शुभकामना! भाषा संवादको माध्यम मात्र होइन, सभ्यता, संस्कृति र सामूहिक स्मृतिको संवाहक पनि हो,' उनले भनेकी छन्, 'भाषा मौलिक पहिचानको आधार स्तम्भ हो। हरेक समुदायले आफ्नो भाषा जोगाउन सके मात्र आफ्नो इतिहास, संस्कृति, दर्शन र जीवनपद्धति जोगाउन सक्छ। त्यसैले भाषाको गरिमा संरक्षण गर्न स्थानीय भाषाको व्यावहारिक प्रयोगलाई अझ विस्तार गर्दै लैजान आवश्यक छ।'
यस सन्दर्भमा बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको दिन विशेष ऐतिहासिक महत्वको दिन भएको बताउँदै उनले यसले नेपालको बहुभाषिक तथा बहुसांस्कृतिक गरिमालाई थप उचाइमा पुर्याउने विश्वास लिएको भनाइ राखिन्।
यस्तै, भाषाको संरक्षणसँगै यसको व्यावहारिक प्रयोग पनि उत्तिकै आवश्यक रहेको उनले बताइन्। सरकारी सेवा प्रवाह, सूचना पाटी, लिखत, दस्तावेज र जनसम्पर्कका क्षेत्रमा स्थानीय भाषाको प्रयोग बढाउँदै लैजानुपर्ने उनको माग छ।
यस अभियानलाई अझ व्यापक बनाउन काठमाडौं महानगरपालिकाका तर्फबाट तथा व्यक्तिगत रूपमा सबैमा अनुरोध गरेको उनले बताइन्।
काठमाडौं महानगरपालिकाले विद्यालय तहमा स्थानीय पाठ्यक्रममार्फत नेपाल भाषा र तामाङ भाषाको अध्ययन-अध्यापन गराउँदै आएको छ। साथै कार्यालयका चिठीपत्र, सूचना, दस्तावेज तथा अभिलेखमा नेपाल संवतको प्रयोगलाई अनिवार्य गरेको छ र स्थानीय लिपिलाई संकेत चिन्हमा प्रयोग गर्दै आएको छ।
प्रकाशित: २४ वैशाख २०८३ १४:१३ बिहीबार





