विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुँदा आफूलाई असहयोग गरेका, शून्य अंक दिएका तथा मन नपरेका कर्मचारी उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री कुलमान घिसिङले धमाधम सरुवा गर्न थालेका छन ।
यहाँसम्म कि उनले सिँचाइ विभागमा समेत कर्मचारीहरू चलाएका छन् । शुक्रबार उनले सिचाइ विभागका उपमहानिर्देशक दिनेश रजौरियलाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा कुसाङ शेर्पालाई नियुक्ति गरेका छन । यसअघि उनले आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कार्यरत हुँदा कार्यसम्पादन मूल्यांकनमा शुन्य अंक दिएका सहसचिव जीवश मण्डललाई विद्युत विकास विभागको महानिर्देशक पदबाट हटाएका छन् ।
करिब डेढ महिना अघिमात्र तत्कालिन उर्जा मन्त्री दिपक खड्काले मण्डललाई मन्त्रालयबाट सरुवा गरी विद्यतु विभागको महानिर्देशक पदमा नियुक्ति गरेका थिए । त्यसअघि मण्डल उर्जा मन्त्रालयमा सहसचिव पदमा कार्यरत थिए । सहसचिव हुँदा उनले तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएका थिए ।
त्यतिबेला प्राधिकरण्को कार्यकारी निर्देशकबाट हटाउने उद्धेश्यबाट घिसिङलाई शून्य अंक दिइएको थियो । गत चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरिएको थियो । उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको थियो ।
उर्जा मन्त्रीमा नियुक्त वित्तिकै घिसिङले माथिल्लो तहका कर्मचारीहरू धमाधम चलाउन थालको छन । हितेन्द्रलाई प्राधिकरणबाट हटाएर माथिल्लो तहका कर्मचारीहरूको सरुवा तथा खटन पटन सुरु गरेका छन् ।
उर्जा मन्त्रालयमा नियुक्त भएको दश दिन नबित्दै घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइसकेका छन् । गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई प्राधिकरणबाट सरुवा गरी जल तथा ऊर्जा आयोगमा लग्ने गरिएको थियो । यसैगरी शाक्यको ठाउँमा मनोज सिलवाललाइ नियुक्त गर्ने निर्णय गरिएको थियो ।
घिसिङले यतिबेला उर्जा, जलस्रोत सिंचाइ मन्त्रालयबाहेक अन्य दुई वटा ठूला÷ठूला मन्त्रालयमा भोतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हालेका छन् । तर अहिले उनले अहिलेसम्म भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा कर्मचारी चलाएका छैनन । घिसिङ उर्जा मन्त्रीमा नियुक्त भएपछि उर्जा मन्त्रालयले यसअघि भदौ १८ र २० गते गरेको कर्मचारीहरू सरुवा गर्ने निर्णय पनि रद्द गरिसकेको छ ।
घिसिङको निर्देशनमा मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट मण्डलबाट विद्युत विकास विभागको कार्यकारी निर्देशक पद हटाइएको छ । उनको ठाउँमा मनदेवी श्रेष्ठलाई नियुक्ति गरिएको छ । मनदेवी विभागको इतिहासमै पहिलो महिला महानिर्देशक हुन् । मण्डललाई भने विभागबाट मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रकाशित: १२ आश्विन २०८२ १७:२५ आइतबार





