प्रधानमन्त्री बालेन्द्र शाहलाई मेसेज लेखेका कारण ७ घण्टा प्रहरीको केरकारमा परेका नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई उपपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गरि जगेडामा राखिएको छ ।
प्रहरीको केरकारबाट रिहा भएको एक दिनपछि प्रधानमन्त्री कार्यालयले उनलाई शुक्रबार जगेडामा राख्ने निर्णय गरेको थियो । जगेडामा राखिएका कर्मचारी जिम्मेवारीविहीन हुन्छन्।
प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारीका अनुसार पुष्करको ठाउँमा कसैलाई सरुवा गरिएको छैन । उनले भने, ‘सोमबार उपराष्ट्रपति कार्यालयमा सचिव पठाउँछौ । आज उहाँ (पुस्कर)लाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरि जगेडामा राख्यौ ।’
पुस्कर आगामी असार २४ बाट सचिवको रुपमा ५ वर्षको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन्। त्यसको तीन दिनपछि मात्र वर्तमान मुख्य सचिव सुमनराज अर्यालले अवकाश पाउने भएकाले पुस्कर मुख्यसचिव हुन पाउनै छैनन्।
राजदुतको लागि आवेदन दिने बारेमा उनले प्रधानमन्त्री शाहलाई मेसेज लेखी बुझ्न खोजेका थिए । त्यही विषयमा उनलाई प्रक्राउ गरी सात घण्टा केरकार गरेको थियो ।
प्रकाशित: २२ जेष्ठ २०८३ २०:१२ शुक्रबार





