विश्व वातावरण दिवसको अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा विभिन्न जिल्लामा करिब ८० हजार बालबालिकाले ‘एक बालबालिका, एक बिरुवा’ नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन् । सो संस्थाका अनुसार स्थानीय सरकार, विद्यालय र सामुदायिक सरोकारवालासँगको सहकार्यमा देशव्यापी अभियान गरिएको हो ।
विभिन्न १७ जिल्लाका ४६ वटा स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको वल्र्ड भिजनले जनाएको छ । बालबालिकाहरूले विद्यालय, समुदाय, वडा कार्यालय र आफ्नै घरआँगनमा वृक्षारोपण गरेका थिए । वातावरण संरक्षण र दिगो जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले आँप, लिची, अम्बा र सुन्तलाजस्ता फलफूलका साथै स्थानीय हावापानी सुहाउँदो प्रजातिका हजारौँ बिरुवाहरू रोपिएका छन् ।
अभियानमा ५ सय ७३ जना अपाङ्गता भएका बालबालिका पनि सहभागी भएका थिए । वल्र्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक रोजलिन हन्सन ग्याब्रिएलले ‘एक बालबालिका, एक बिरुवा’ अभियान सञ्चालन गर्न पाउँदा गौरवान्वित भएको तथा यो अभियान सामूहिक सहकार्यबाट सम्भव भएको बताइन् । बालबालिकाले हरित भविष्यका लागि अहिले नै नेतृत्व लिएको उनको भनाइ छ ।
प्रकाशित: २२ जेष्ठ २०८३ २०:३८ शुक्रबार





