२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

केपी ओली भन्छन् : राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध जति प्रहार भए पनि नढल्ने बताएका छन्। आफूलाई नजिक आएर ‘कमरेड’ भन्नेहरूले नै छुरा हान्ने गरेको बताउँदै उनले आफू नमरुन्जेल लडिरहने बताएका हुन्। 

आइतबार काठमाडौंमा एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न किसिमका प्रहार भइरहेको बताए। 

‘नजिकै आउँछ, कमरेड भन्छन्, ग्याम्म छुरी हान्छ। यो पनि देखियो,’ उनले भने। 

उनले आफूलाई महाभारतका भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बूढो भइसकेका थिए। म त्यति बूढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,’ उनले भने। 

ओलीले पञ्चायत व्यवस्था हटाउने, राजतन्त्र ढाल्ने र त्यसपछि समाजवादमा पुग्ने उद्देश्यका राजनीतिमा आएको बताउँदै आफू जीवित छँदै पञ्चायत व्यवस्था हटेको र राजतन्त्र अन्त्य भएको बताए। 

आफूलाई विगतमा पनि ‘ज्यानमारा’ भनिएको बताए। 

‘राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन नि, त्यतिबेला पनि ज्यानमारा भनेको थियो। कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुन्जेलसम्म बैरीसँग झुकिँदैन,’ उनले भने।  

प्रकाशित: २५ आश्विन २०८३ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App