नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेापलले वर्तमान परिस्थिति ल्याउनमा मुख्य जिम्मेवारी एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन्।
अध्यक्ष नेपालले पार्टीको अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै यस्तो बताएका हुन्। उनले २०७४ को आम निर्वाचनपश्चात् करिब दुईतिहाइ बहुमतको एकल सरकार उनको नेतृत्वमा बनेको स्मरण गर्दै भने, 'त्यसले आर्थिक-सामाजिक रूपान्तरणका गुरुयोजनाहरू बनाएर तीव्र गतिका साथ विकास निर्माणका काम गर्नसक्थ्यो, गर्नुपर्थ्यो तर उनले गरेनन्, गर्न चाहेनन्।'
ओलीले २०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले गरे जति काम पनि नगरेको आरोप समेत लगाए। साथै पार्टीको नीति र निर्देशनमा सरकार चलाउनु पर्यो भन्दा नमानेर ओलीले प्रतिनिधिसभा विघटन गर्ने जस्तो प्रतिगामी कदम चालेको पनि बताए। त्यसै विन्दुबाट मुलुक आन्तरिक विवाद, पार्टी विभाजन र राजनीतिक अस्थिरताको भूमरीमा पसेको नेपालको भनाइ छ।
'अहिलेको परिस्थिति ल्याउनमा मुख्य जिम्मेवार तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओली हुन् किनभने वि.सं. २०७४ को आम निर्वाचनपश्चात् करिव दुईतिहाइ बहुमतको जुन एकल सरकार उनको नेतृत्वमा बनेको थियो, त्यसले आर्थिक-सामाजिक रूपान्तरणका गुरुयोजनाहरू बनाएर तीव्र गतिका साथ विकास निर्माणका काम गर्नसक्थ्यो, गर्नुपर्थ्यो तर उनले गरेनन्, गर्न चाहेनन्,' नेपालले भने, 'उनले वि.सं. २०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले गरेजति काम पनि गरेनन्। पार्टीको नीति र निर्देशनमा सरकार चलाउनु पर्यो भन्दा नमानेर उनले प्रतिनिधि सभा विघटन गर्ने जस्तो प्रतिगामी कदम चाले। त्यसै विन्दुबाट मुलुक आन्तरिक विवाद, पार्टी विभाजन र राजनीतिक अस्थिरताको भूमरीमा पस्यो।'
सामाजिक सञ्जाललाई नियमन गर्ने कानुन बनाउनेतर्फ नलागी आदेशद्वारा बन्द गर्ने काम गरियो, जसले गर्दा जेन-जी पुस्तामा आक्रोस पैदा भएको नेपालको बुझाइ छ। उनले अपानीमा भनेका छन्, 'त्यस आक्रोसलाई शान्त पार्न आवश्यक पहल नगरी उल्टो क्रुर दमन गर्नाले विध्वंस मच्चियो र जन धनको ठूलो क्षति भयो।'
प्रकाशित: ११ आश्विन २०८२ १९:५४ शनिबार





