१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

राजनीतिप्रति घृणा फैल्याउनेहरूप्रति खबरदारी गर्न केपी ओलीको अपील

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैल्याएर दिशाहिन गन्तव्यको राजनीति गर्नेहरूप्रति खबरदारी गर्न सबैमा अपील गरेका छन्। जेनजी पुस्ताको आन्दोलनबाट नजायज फाइदा उठाई दलविहीन र गन्तव्यहीन बाटोमा मुलुकलाई लान खोजेकोप्रति अध्यक्ष ओलीले आम पार्टी पंक्तिसहित सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई खबदारी गर्न अपील गरेका हुन्।  

प्रेस चौतारी नेपालका प्रतिनिधिहरूसँग भक्तपुर गुन्डुस्थित निवासमा बिहीबार साँझ अध्यक्ष ओलीले भने, ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो? यस्तो दिशाहिन राजनीति कसैले गर्नु हुँदैन। यसलाई आम पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिले खबरदारी गर्न मेरो अपील छ।’

राजनीतिक दलका झण्डा देश बचाउनका लागि उठाइने भएकाले दलबिहिन राजनीति भनेर किन घृणा फैल्याएको छ? भनि प्रश्न गर्दै ओलीले भने, ‘विवेक शून्य, क्षतिग्रस्त दिमाग, क्षतिग्रस्त लक्ष्यले अराजकताको पैरवी मात्रै गर्दछ।’ लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैल्याइन्छ भने अर्को कुन व्यवस्था र तन्त्र चाहेको हो भनि अध्यक्ष ओलीले प्रश्न गरे।

निर्वाचित निकाय देख्नै नहुने र संरचनामा आगजनी गर्ने काम जेनजी पुस्ताबाट नभएको अध्यक्ष ओलीले बताए। ‘जेनजीका माग ठीक थिए। भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शीताको मागमा कसैको बिमति होइन,’ अध्यक्ष ओलीले भने, ‘तर जेनजी पुस्ताले नेपालको राष्ट्रिय झण्डा ओडेर सिंहदरबारमा आगो लगाउन सक्दैनन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर जी र आरजुजीलाई त्यस्तो अमानवीय व्यवहार जेनजी पुस्ताले गर्न सक्दै सक्दैन। जेनजी पुस्तालाई देशको माया छ, उ सँग विवेक छ।’

प्रतिशोधको भावले सामाजिक सदभाव भडकाउने गरी अभिव्यक्ति दिएर सामाजिक मूल्य, मान्यता समाप्त पार्न खोजिएको अध्यक्ष ओलीले बताए। सांस्कृतिक धरोहरहरुलाई पूर्णरुपमा ध्वस्त बनाउनु सांस्कृतिक बिचलन आएको उनले भने।  

‘अहिले देश र समाजलाई पुरै आतंकित पारिएको छ। सर्प, बाघबाट मानिलाई त्रास छैन। सार्वजनिक सम्पत्ति, जनताको धनजनको क्षति पु¥याउने मान्छेबाटै त्रसित बनाइएको छ। जेनजी पुस्ताको आडमा तैंले कुनै दलप्रति, व्यक्तिप्रति समर्थन गरिस भने घर जलाईदिन्छु। कुटपिट गर्छु भनेर समाजमा आतंक सृजना गरिएको छ। यो प्रवृत्तिलाई तत्काल रोक्नु पर्छ। समाज र मान्छेलाई आतंकित बनाउनेहरुलाई कानुनी कार्वाहीको दायरामा लिनुपर्छ,’ अध्यक्ष ओलीले भने।

मुलुकले यति ठूलो क्षति कहिल्यै बेहोर्नु नपरेको औंल्याउँदै अध्यक्ष ओलीले भने, ‘यो क्षतिले समाज र देश विकासमा चौथाई शताब्दी पछाडी ढकेलिदिएको छ। अब खरानीबाट उठ्नु परेको छ। सुधार गर्दै अघि बढ्ने हो। अब आउने पुस्ता सुख, समृद्धिमा बाँच्न पाउनुपर्छ भन्ने हो। तर अहिले जुन ढंगले अघि बढ्न खोजिएको छ। यसबाट समृद्धिको गन्तव्यमा नयाँ पुस्तालाई कहिल्यै पुर्याउँदैन।’

भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउँदा, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको झण्डा उठाउँदा आफूले अपमान बेहोर्नु परेको अध्यक्ष ओलीले बताए। रविन्द्रनाथ टैगोरको ‘एक्ला चलो रे’ कविताको सारासं सुनाउँदै अध्यक्ष ओलीले भने, ‘सत्यमा एक्लै भए पनि उभिनु। सत्य चिर स्थायी हुन्छ।’

दलहरू मुलुकप्रति जिम्मेवार रहेकाले दलभित्रै व्यवस्थापन र समाधान खोजिने उनले बताए। केही पार्टी नेताहरूको सार्वजनिक टिप्पणीप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘पार्टीको कुरा फोरममा चलाउने हो। सडक र मौसमी हावाको भरमा चलाउनु हुँदैन। सबैको व्यवस्थापन हुन्छन्।’

प्रेस तथा वाक स्वतन्त्रता हिजोको दिनमा पनि लडेरै लिएकाले सत्यतामा अडिग रहेको समाचार, विचार संप्रेषण गर्न पत्रकारहरूलाई अध्यक्ष ओलीले आग्रह गरे। उनले भने, ‘सत्य समाचार, विचार व्यक्त गर्दा, लेख्दा कसैको धम्कीबाट डराउनु पर्दैन। प्रेस तथा वाक स्वतन्त्रता लडेरै लिएको हो। त्यसको उपयोग पत्रकारहरुले निर्भिकताका साथ गर्नुहोस्।’

प्रकाशित: १२ आश्विन २०८२ २०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App