नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको राजनीतिक घटनाक्रमलाई लोकतन्त्र र वामपन्थी आन्दोलनलाई कमजोर बनाउने उद्देश्यसहित भएको प्रतिगामी षड्यन्त्रका रूपमा टिप्पणी गरेका छन्।
मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त घटनाले नेपालको वाम आन्दोलन मात्र नभई समग्र लोकतान्त्रिक प्रणालीलाई नै निशाना बनाएको दाबी गरे।
उनका अनुसार वैधानिक सरकारलाई अवैधानिक ढङ्गबाट विस्थापन गरिएको र त्यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्न नसकिने अवस्था सिर्जना भएको थियो। उनले लोकतान्त्रिक व्यवस्थामा सरकार गठन, परिवर्तन वा अपदस्थ गर्ने प्रक्रिया संसद्को संवैधानिक अधिकारभित्र हुनुपर्ने धारणा राखे।
ओलीले संसद्को भूमिकालाई बेवास्ता गर्दै गरिएको राजनीतिक हस्तक्षेपले लोकतान्त्रिक मूल्य र संवैधानिक अभ्यास कमजोर बनाएको दाबी गरे। उनले वैधानिक सरकारलाई हटाएर वैधानिक प्रक्रियाबाहिर सरकार गठन गर्ने अभ्यास लोकतान्त्रिक मान्यताअनुकूल हुन नसक्ने उल्लेख गरे।
प्रकाशित: १४ असार २०८३ १७:०२ आइतबार




