राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सल्लाहकार र सहयोगीहरूले राज्यका संवैधानिक तथा प्रशासनिक निकायमाथि अनुचित हस्तक्षेप गरेको बताएकी छिन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र अधिकारीहरूलाई निर्देशन दिनुका साथै करिब नौ घण्टा नियन्त्रणमा राखेको भन्दै आफूहरूले चाहेअनुसार निर्णय गर्न दबाब दिएको आरोप सार्वजनिक भएको बताए।
उनले कूटनीतिक नियोगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको समाचार आएको भन्दै उनले यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतामा गम्भीर असर पार्ने बताइन्।
सांसद ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको समेत बताइन् । उनले विधिको शासनभन्दा व्यक्ति केन्द्रित शासन प्रणाली हाबी हुँदै गएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले संस्थागत स्मृति, प्रशासनिक निरन्तरता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खडा गरेको बताइन्।
साथै राज्यका संस्थामाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति प्रत्यक्ष देखिन थालेको भन्दै उनले विधि, प्रक्रिया र संस्थागत उत्तरदायित्वभन्दा व्यक्ति निष्ठ प्रभावलाई प्राथमिकता दिने प्रशासनिक संस्कृतिको विकास हुन लागेको हो कि भन्ने प्रश्न उठाइन्।
प्रकाशित: ५ असार २०८३ १७:२४ शुक्रबार



-600x400.jpg)

