१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

नयाँ वर्ष २०८३ मा समाजवादी रूपान्तरणतर्फ अग्रसर हुन खनालको आह्वान

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनालले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै देशलाई समाजवादी रूपान्तरणतर्फ अघि बढाउन आह्वान गरेका छन्।

नयाँ वर्षको सन्देश दिँदै नेता खनालले २०८२ साललाई ‘उथलपुथलपूर्ण वर्ष’ का रूपमा उल्लेख गर्दै देश अहिले नयाँ चुनौती र सम्भावनाहरूको संघारमा उभिएको बताएका छन्। उनले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा नवजागरण, एकता, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

खनालले २०६२–०६३ को जनआन्दोलनपछि प्राप्त उपलब्धिहरू गणतन्त्र स्थापना, संविधान निर्माण तथा वामपन्थी सरकार गठन, उल्लेख गर्दै त्यसअनुसार अपेक्षित परिवर्तन हुन नसकेको स्वीकार गरेका छन्। उनका अनुसार, त्यसपछिका सरकारहरू जनताको आधारभूत आवश्यकता रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र सुरक्षाजस्ता विषयमा प्रभावकारी हुन नसक्दा जनअसन्तोष तीव्र रूपमा बढेको छ।

उनले बेरोजगारी, महँगी र भ्रष्टाचारका कारण ठूलो संख्यामा नेपाली युवाहरू विदेश पलायन हुन बाध्य भएको उल्लेख गर्दै जनआक्रोशलाई देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरूले प्रयोग गर्न खोजेको आरोप समेत लगाएका छन्। साथै, पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र चुनावी परिणामले देशको शक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको उनको भनाइ छ।

नयाँ सरकारप्रति संकेत गर्दै खनालले जनताको आधारभूत समस्याहरू समाधान गर्ने स्पष्ट नीति र योजना नदेखिएको टिप्पणी गरेका छन्। उनले निर्वाचनलाई ‘कार्यनीतिक घटना’ मात्र भएको उल्लेख गर्दै समाजवादी क्रान्तिको दीर्घकालीन लक्ष्यबाट विचलित नहुन आग्रह गरेका छन्।

उनले आफ्नै पार्टीको हारप्रति आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्। साथै, देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूको व्यापक मोर्चा निर्माण गरी समाजवादको लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

‘जनताको आधारभूत समस्या समाधान गर्ने एकमात्र बाटो समाजवादी रूपान्तरण नै हो,’ खनालले भनेका छन्, ‘नयाँ वर्ष २०८३ ले हामीसँग यही ऐतिहासिक जिम्मेवारीको माग गरिरहेको छ।’

 

प्रकाशित: १ वैशाख २०८३ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App