१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कर्णालीका ‘सुइना’ अब हाम्रा सपना हुनेछन्: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीका बासिन्दाले देखेका समृद्धिका सपनाहरूलाई आफ्नो पार्टीले साझा सपनाको रूपमा आत्मसात गर्ने बताएका छन्।

बिहीबार सुर्खेतमा आयोजित ‘वाचा पत्र २०८२’ सार्वजनिक तथा परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले कर्णालीको उत्थान नै देशको वास्तविक रूपान्तरण भएको सुनाए।

‘मैले केही समयअघि फेसबुकमा लेखेको थिएँ, कर्णालीका सुइना, हाम्रा सुइना। आज कर्णालीकै भूमिमा उभिएर भन्छु, तपाईंका ती अधुरा सपनाहरू अब हाम्रा सपना हुनेछन्। ती सपना बोकेर अघि बढ्ने यात्राको सुरुवात हामीले आज सार्वजनिक गरेको बाचापत्रबाट गरेका छौं।’

शाहले कर्णालीको अथाह सम्भावना भएर पनि राज्यले सही नीति लिन नसक्दा यहाँका उत्पादनले उचित बजार नपाएकोमा चिन्ता व्यक्त गरे।

‘डोल्पाको यार्सागुम्बा विश्वभर पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल नेपालकै चितवन र झापा पुग्न कठिन छ,’ उनले भने, ‘यहाँको उत्पादनलाई कम्तीमा देशभर पुर्‍याउने र किसानलाई समृद्ध बनाउने योजना रास्वपासँग छ।’

नेपाली भाषा र खस सभ्यताको उद्गमस्थल कर्णालीको ऐतिहासिक गरिमालाई राज्यले चिन्न नसकेको शाहको टिप्पणी थियो। उनले सिञ्जा उपत्यकाको सभ्यतालाई जोगाउनु रास्वपाको प्राथमिकता रहने बताए।

‘जसरी हामीले काठमाडौंमा नेवाः सभ्यता, त्यहाँको भाषा, लिपि र बाजागाजा जोगाएका छौं, त्यसैगरी कर्णालीको मौलिक सभ्यता र पहिचानलाई पनि हामी जोगाएर राख्नेछौं,’ उनले भने।

उनले थपे, ‘कर्णालीको दुःख बेच्ने नेताहरू धेरै आए, तर यहाँको पीडालाई गहिराइबाट बुझ्ने नेताहरूको खाँचो छ। त्यो अभाव पूर्ति गर्न रास्वपा आएको हो।’

प्रकाशित: ७ फाल्गुन २०८२ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App