३ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

कर्णाली मन्त्रिपरिषद् विस्तार: तीन मन्त्रालयसहित एमाले सरकारमा सहभागी

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्।

बुधबार भएको विस्तारसँगै नेकपा (एमाले) तीन मन्त्रालयसहित कर्णाली प्रदेश सरकारमा औपचारिक रूपमा सहभागी भएको छ।

मुख्यमन्त्री शाही र एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलबीच बुधबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै एमालेका तीन सांसदलाई मन्त्रिपरिषद्‌मा समावेश गरिएको हो।

नयाँ समीकरण अनुसार एमालेबाट जुम्लाका टेकराज पछाई आर्थिक मामिला तथा योजनामन्त्री, मुगुका जीतबहादुर मल्ल सामाजिक विकासमन्त्री र हुम्लाका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्।

नवनियुक्त तीनै जना मन्त्रीलाई बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

मुख्यमन्त्री शाहीले पदभार सम्हालेको २२ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन्। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा यसअघि मुख्यमन्त्री शाहीले एक्लै सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

एमाले सरकारमा सामेल भएसँगै अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तीन जना मन्त्री पठाउन बाँकी रहेको छ।

प्रकाशित: ३ भाद्र २०८३ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App