३ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उड्यो विश्वकै ठूलो इलेक्ट्रीक विमान, २७ मिनेट उड्दा ५ डलरको बिजुली खर्च

विश्वकै सबैभन्दा ठूलो ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स-वान’ ले आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

स्विडेनी मूलको अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ ले निर्माण गरेको उक्त विमानले न्युयोर्कको आकाशमा २७ मिनेटसम्म ब्याट्रीको ऊर्जाबाट मात्रै उडान भरेर उड्डयन इतिहासमा नयाँ फड्को मारेको हो।

Heart Aerospace’s battery-electric X1 demonstrator maneuvers above the woodlands of New York.

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को विशेष परीक्षण प्रमाणपत्र पाएपछि न्युयोर्कस्थित प्ल्याट्सबर्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानले १ हजार १ सय फिटको उचाइ तय गरेको थियो।

३० सिट क्षमताको व्यावसायिक विमानको आकारमा बनेको करिब ११ हजार ३४० किलो तौल भएको यस विमानमा परीक्षणका क्रममा पाइलट मात्र सवार थिए।

Heart Aerospace’s X1 electric demonstrator flies above Lake Champlain at sunrise with its landing gear extended and Vermont’s Green Mountains beyond.

१०६ फिट लामो पखेटा र ७६ फिट लम्बाइ भएको यो विमानले उडानका क्रममा १ मेगावाटभन्दा बढी विद्युतीय ऊर्जा खपत गरेको थियो।

विश्वबजारमा हवाई इन्धनको मूल्य आकासिएर प्रतिग्यालन ३.५० डलर पुगेका बेला भएको यस परीक्षण उडानमा जम्मा ५ डलर बराबरको बिजुली मात्र खर्च भएको कम्पनीले जनाएको छ।

Heart Aerospace’s X1 battery-electric demonstrator flies above dense green woodland.

हार्ट एरोस्पेसका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डरस फोर्सलुन्डले यो परीक्षणले व्यावसायिक विमानको स्तरमा विद्युतीय उडान सम्भव छ भन्ने प्रमाणित गरेको बताए।

उनले विद्युतीय प्रविधिले एयरलाइन्सहरूको सञ्चालन खर्च उल्लेख्य घटाएर भविष्यमा हवाई भाडा सस्तो बनाउन मद्दत पुग्ने दाबी गरे।

Heart X1 cockpit at rollout.

यो परीक्षण विमान सिधै व्यावसायिक सेवामा भने जाने छैन। कम्पनीले यसलाई सन् २०३१ सम्ममा व्यावसायिक रूपमा बजारमा ल्याउने तयारी गरेको ३० सिटे ‘ईएस–३०’ हाइब्रिड–विद्युतीय विमानको प्राविधिक परीक्षणका रूपमा प्रयोग गरेको हो।

अमेरिकाको लस एन्जलसस्थित प्लान्टमा निर्माण भइरहेको ईएस-३० को पहिलो उडान परीक्षण सन् २०२८ मा गर्ने तालिका छ।

यस परियोजनामा युनाइटेड एयरलाइन्स, एयर क्यानडा र जेएसएक्स जस्ता ठूला वायुसेवा कम्पनीहरूले लगानी तथा चासो देखाएका छन्।

X1 interior

युनाइटेड एयरलाइन्सका प्रमुख वित्तीय अधिकृत (सीएफओ) माइकल लेस्किनेन र एयर क्यानडाका सीएफओ जोन डि बर्टले यस सफलतालाई हरित र दिगो उड्डयनको महत्त्वपूर्ण कोशेढुङ्गा भन्दै स्वागत गरेका छन्।

हार्ट एरोस्पेसका अनुसार परम्परागत क्षेत्रीय विमानहरूको तुलनामा यो हाइब्रिड विमान सञ्चालन गर्न ४० प्रतिशतभन्दा बढी सस्तो हुनेछ।

ब्याट्रीको सस्तो ऊर्जा, मर्मत खर्चमा आउने भारी गिरावट र कार्बन उत्सर्जन कर तिर्नु नपर्ने भएकाले एयरलाइन्सहरूलाई ठूलो आर्थिक लाभ हुने कम्पनीको दाबी छ।

Heart Aerospace sunset X1.

विमानको तौल र ब्याट्री क्षमताका कारण पूर्ण रूपमा ब्याट्रीबाट मात्रै लामो दूरीका व्यावसायिक उडान भर्न अझै प्राविधिक चुनौती छ।

एक्स-वान ब्याट्रीबाट मात्र करिब १२५ माइलसम्म उड्न सक्छ भने हाइब्रिड इन्जिन (रेन्ज एक्सटेन्डर) को सहयोगमा यसको क्षमता ५०० माइलसम्म पुग्नेछ।

विश्वभर विद्युतीय उड्डयन क्षेत्रमा अन्य कम्पनीहरू पनि तीव्र प्रतिस्पर्धामा छन्। रोल्स-रोयसले द्रुत गतिको विद्युतीय विमान, हार्बर एयरले ६ सिटे विद्युतीय सिऔप्लेन तथा जोबी एभिएसन र आर्चर एभिएसनले छोटो दूरीका भर्टिकल टेकअफ विमान विकास गरिरहेका छन्।

प्रकाशित: ३ भाद्र २०८३ २०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App