नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेमा कसैले इन्ट्री दिनु नपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै थापाले भण्डारीले नै बनाएको पार्टी भएकाले उनलाई कसैले प्रवेश गराइराख्नु नपर्ने बताएका हुन्।
‘उहाँलाई इन्ट्री कसैले दिनुपर्दैन, जनताको बिचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो,’ थापाले भने, ‘यो त उहाँ आफैँले निर्माण गरेको पार्टी हो, यत्रो ठुलो जनमत छ। उहाँ अहिले एमालेमा हुनुहुन्छ। उहाँ एमालेको नेता हुनुहुन्छ।’ एमालेका जनजनले भण्डारीलाई मन पराएको उनले बताए।
एमालेले जनताको बहुदलीय जनवादी सिद्धान्त मान्ने भएकाले कुनै व्यक्तिलाई छेक्न नमिल्ने पनि थापाले बताए। ‘जबजले कुनै व्यक्तिलाई राजनीति गर्नबाट रोक्न छेक्न सक्दैन। अहिलेको अवस्थामा कसैलाई पनि अपमान गर्ने, लाञ्छना लगाउने काम गर्नु हुँदैन,’ थापाले भने।
भण्डारीको राजनीतिक सक्रियता नरोकिने पनि उनले बताए। उनले अगाडि भने, ‘उहाँको सक्रियता रोकिँदैन। विधान महाधिवेशनमा सबभन्दा महत्त्वपूर्ण विषय यो विषय प्रवेश गर्छ। हामी फरक मत प्रस्तुत गछौं।’
प्रकाशित: ७ भाद्र २०८२ १८:३६ शनिबार





