देशव्यापी जेन-जी आन्दोलनको भावनालाई स्थानीय स्तरमा कार्यान्वयन गर्न माग गर्दै कालिकोटका युवाहरूले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन्।
बिहीबार जेन-जी प्रतिनिधि मनिस शाहीको नेतृत्वमा गएको एक टोलीले जिल्लामा व्याप्त भ्रष्टाचार, लागुऔषध दुर्व्यसन र अन्य विकृति नियन्त्रणको माग राख्दै प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयललाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।
ध्यानाकर्षण पत्रमा गत भदौ २३ र २४ गते देशभर भएको ऐतिहासिक जेन-जी आन्दोलनले सरकार परिवर्तनसम्मको अवस्था सिर्जना गरे पनि आन्दोलनका आधारभूत मागहरू अझै पूरा नभएको उल्लेख गरिएको छ।
संघ, प्रदेश र स्थानीय तीनै तहमा भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता र अपारदर्शिताले राज्यका अंगहरूलाई कमजोर बनाएको र जनतामा प्रशासनिक प्रणालीप्रतिको विश्वास घट्दै गएकोप्रति युवाहरूले चिन्ता व्यक्त गरेका छन्।
जेन-जी प्रतिनिधिहरूले जिल्लाको समसामयिक समस्यालाई इंगित गर्दै निम्न मागहरू अघि सारेका छन्:
१. लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने।
२. जथाभावी मदिरा बिक्री-वितरणमा कडाइ गर्दै जुवातास नियन्त्रण गर्नुपर्ने।
३. सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने कार्य रोक्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने।
४. जेन-जी आन्दोलन र यसका अभियन्ताहरूलाई बदनाम र अपमान गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने।
५. कालिकोट जिल्लाभित्र भइरहेको भ्रष्टाचार र विकृति-विसंगतिविरुद्ध कडाइ गर्नुपर्ने।
६. वन्यजन्तुको अवैध चोरी-सिकारी नियन्त्रण गर्न कठोर कदम चाल्नुपर्ने।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले युवाहरूले उठाएका मागहरू जायज रहेको र तिनलाई सम्बोधन गर्न प्रशासन प्रतिबद्ध रहेको जनाए।
उनले आगामी दिनमा पनि जिल्लाको सुधारका लागि जेन-जी युवा पुस्ताको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको धारणा राखे।
प्रकाशित: २७ कार्तिक २०८२ २१:१५ बिहीबार


-600x400.jpg)


