जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारीसँगै सङ्घर्षका कार्यक्रम गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र सङ्घर्षका कार्यक्रमहरु एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालले घोषणा गरेको सङ्घर्षका कार्यक्रममा मंसिर १० गते सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने, मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन हुने बस्नेतले बताए ।
मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने निर्णय जसपाले गरेको छ । मंसिर २७ देखि पुस ४ सम्म भने देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा सञ्चालन गर्ने बस्नेतले बताए ।
जसपा नेपालले प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते नेपालगञ्ज र भैरहवामा कार्यक्रम तय गरिएको छ ।
पार्टीले विगतदेखि नै उठाउँदै आएको माग र मुद्दाहरु पुरा गराउन सरकार सकारात्मक नदेखिएकोले सडक सङ्घर्षमा जानुपरेको बस्नेतको भनाइ छ ।
यसका अतिरिक्त आवश्यक्ताअनुसार अन्य विरोधका कार्यक्रमहरु सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।
प्रकाशित: ६ मंसिर २०८२ १७:५९ शनिबार





