कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला हिंसा अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार मोरङको रंगेलीमा आयोजित किशोरी स्वास्थ्य परामर्श मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले विश्वको मानवजाती सबै एकै भएकाले लिंग, जात, भाषा, वर्ण, भूगोल आदिका आधारमा विभेद र हिंसा गर्न नहुने धारणा राखे ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा महिला हिंसालगायत सबै किसिमका हिंसा र विभेदविरुद्ध प्रदेश सरकारले स्थानीय तहहरूसँगको सहकार्यमा निरन्तर अभियान सञ्चालन गर्ने योजना अघि बढाएको जानकारी दिए ।
उनले कोशी प्रदेशमा बाल विवाह अन्त्य गर्न पनि प्रदेश सरकारले कार्यक्रमहरू सञ्चालन गर्ने बताए । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले कोशी प्रदेशमा अझै पनि बालबिबाहको अवस्था बिकराल रहेको बताइन् । उनले नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह मुक्त देश बनाउने अन्तराष्ट्रिय मञ्चमा प्रतिवद्धता जनाएकाले निर्धारित समयमा बालविवाह अन्त्य गर्न आवश्यक कदम चाल्न प्रदेश सरकारलाई आग्रह गरिन् । दनुवारले अझै पनि बालविवाह रोक्न नसकेको गुनासो गरिन् ।
दनुवारले भनिन्, ‘कोशी प्रदेशमा अझै पनि बाल विवाहको बिकराल अवस्था रहेकाले बाल बिबाह रोक्न आवश्यक कार्यक्रमसहित प्रदेश सरकारले योजना अघि बढाओस् ।’
रंगेली नगरपालिकाका मेयर दीलिप वगडियाले रंगेली नागरपालिकाले नगर क्षेत्र भित्रका विद्यालयहरूमा किशोरीलाई हरेक शुक्रबार परामर्श सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लगायत विभिन्न संघ संस्था र अस्पतालले किशोरीहरूलाई परामर्श सेवा उपलब्ध गराएका थिए । कार्यक्रममा रंगेली नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता थियो ।
प्रकाशित: १४ मंसिर २०८२ २०:३३ आइतबार





