६ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रचण्ड-माधवलाई झलनाथको अल्टिमेटम: तपाईंहरूबाट पार्टी चल्दैन, मार्गप्रशस्त गर्नुस्

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाललाई नेतृत्वबाट राजीनामा दिई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।

पार्टी एकताको सात महिना बितिसक्दा पनि संगठनात्मक काम अघि नबढेको, निर्वाचनमा लज्जास्पद हार व्यहोरेको र वैचारिक विचलन चुलिएको भन्दै खनालले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने ठोकुवा गरेका हुन्।

संयोजक प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै नेता खनालले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको शर्मनाक पराजयको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका हुन्।

खनालका अनुसार निर्वाचनमा पार्टीको विश्लेषण र अपेक्षाविपरीतको हार हुनुमा नेतृत्वको गलत कार्यदिशा, नीति र सिद्धान्त मुख्य जिम्मेवार छ। उनले नेतृत्वमा आकर्षण घटेको र कार्यकर्तामा चरम निराशा छाएको उल्लेख गर्दै अबको निकास नेतृत्व हस्तान्तरण नै भएको उल्लेख गरे।

एकता भएको लामो समय बित्दासमेत तल्लो तहसम्म कमिटीहरू निर्माण हुन नसक्नु नेतृत्वको अकर्मण्यता भएको खनालको बुझाइ छ। ‘एकताको सात महिना पुग्दासमेत पार्टी एकीकरण हुन सकेको छैन, कार्यकर्ताहरू दिशाहीन र निष्क्रिय बनेका छन्,’ खनालले पत्रमा लेखेका छन्, ‘यी सबै कुराले कमरेड तपाईंहरूले पार्टी पुनर्गठन गर्न, बनाउन र हाँक्न पनि सक्नुभएको देखिएन।’

उनले नेतृत्वले विधि र पद्धति मिचेर ‘सेटिङ’ मा पार्टी चलाएको आरोपसमेत लगाए।

खनालले भ्रष्टाचारको मुद्दा खेपिरहेका माधवकुमार नेपाललाई सह-संयोजक बनाइनु र योग्य नेताहरूलाई भूमिकाविहीन राख्नुले नेतृत्वको नैतिकतामाथि प्रश्न उठाएको बताए।

भीम रावल र हरिबोल गजुरेल जस्ता पुराना र योग्य नेताहरूमाथि गरिएको व्यवहार निरंकुश र अपमानजनक भन्दै उनले नेतृत्वले स्वेच्छाचारी ढंगले काम गरेको दाबी गरे।

उनले आफूलाई समेत खोरमा थुनिए जस्तो महसुस गराइएको भन्दै आक्रोश पोखे। वर्तमान संकटको समाधानका लागि संयोजक र सह-संयोजकले तत्काल मार्गप्रशस्त गरी नयाँ, योग्य र विचारवान् नेतालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने खनालको मुख्य माग छ।

उनले महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित बनाउन विशेष बैठक बोलाएर नयाँ नेतृत्व चयन गर्न अधिकार दिन सुझाव दिएका छन्।

प्रकाशित: ३ असार २०८३ १९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App