४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

झलनाथ खनालेले भने- नेकपा मेरा लागि खोर जस्तै भएको छ

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालेले पार्टीभित्र आफूलाई खोर मा थुनिएको जस्तो अनुभूति भएको बताउँदै संयोजक पुष्पकमल दाहालको कार्यशैलीप्रति आक्रोश पोखेका छन्।

पार्टी एकता भएको सात महिना बितिसक्दा पनि कुनै जिम्मेवारी नदिएर अपमानित गरिएको भन्दै खनालले ३६ बुँदे असन्तुष्टि पत्रमार्फत नेतृत्वको आलोचना गरेका हुन्।

संयोजक प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा खनालले ६ दशक लामो आफ्नो राजनीतिक इतिहासमा पहिलो पटक यस्तो उपेक्षा सहेको उल्लेख गरे।

उनले लेखेका छन्, ‘म जस्तोसुकै बेलामा पनि वैचारिक र संगठनात्मक रूपले सक्रिय रहने नेता हुँ, तर अहिले यो पार्टी मेरा निम्ति खोर जस्तै अनुभूत भएको छ।’

उनले आफू अझै १०–१५ वर्ष सक्रिय रहने सामर्थ्य राख्दा-राख्दै पनि नियतवश किनारा लगाइएको दाबी गरे। खनालले पार्टीको वैचारिक दिशा र विधानलाई लिएर पनि नेतृत्वको आलोचना गरे।

वैज्ञानिक समाजवादको लक्ष्य बिर्सेर पार्टी खिचडी र दक्षिणपन्थी अवसरवाद तर्फ उन्मुख भएको उनको तर्क छ। ‘पार्टीको विधान वैज्ञानिक समाजवादको नभई कुनै पण्डितले लेखेको जस्तो र प्रजातान्त्रिक समाजवादको वकालत गर्ने खालको छ, यसले क्रान्तिकारी कम्युनिष्टको पहिचान मेटाउँदैछ,’ खनालले पत्रमा भनेका छन्।

सांगठनिक अपारदर्शिताको प्रसंगमा खनालले अर्का नेता माधवकुमार नेपालको दबाबमा संयोजक प्रचण्डले लाचार आत्मसमर्पण गरेको आरोप लगाए।

१९ करोडको भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई सह-संयोजक बनाइनु र वरिष्ठ नेताहरू भीम रावल तथा हरिबोल गजुरेललाई अपमानित गरिनुले पार्टीभित्रको अराजकता स्पष्ट हुने उनको ठम्याइ छ।

खनालले नेतृत्वलाई प्रश्न गर्दै भनेका छन्, ‘मलाई जिम्मेवारीविहीन बनाएर घुम्दा तपाईंलाई कति आनन्द आइरहेको छ ? के यो पार्टी तपाईंको व्यक्तिगत इच्छा र चाहनाअनुसार चल्ने हो ?’

उनले पार्टीभित्र चुलखोरहरूले नेतृत्वलाई घेराबन्दीमा पारेको र त्यसैको आधारमा व्यक्तिगत निर्णय लिने गरिएको दाबी समेत गरे।

निर्वाचनमा पार्टीले व्यहोरेको ‘शर्मनाक हार’ को समीक्षा गर्दै खनालले वर्तमान नेतृत्वबाट अब पार्टी पुनर्गठन सम्भव नरहेको ठोकुवा गरे। उनले संयोजक र सह-संयोजक दुवैलाई मार्गप्रशस्त गर्न सुझाव दिँदै नयाँ र विचारवान् पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे।

प्रकाशित: ३ असार २०८३ १८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App