गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुन २१ मा तोकिएको आम निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व भएको बताएका छन्।
गण्डकी प्रदेशसभाको सोमबारदेखि सुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘फागुन २१ मा प्रतिनिधिसभाको चुनाव घोषणा भई संघ सरकारले तयारी गरिरहेको सन्दर्भमा संविधानतः हुने निर्वाचनलाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व हो।’ उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेशसभा सदस्यहरू, दलहरू, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे।
तर नागरिकमा डर त्रास कायम रहेको भन्दै यो हटाउन सरकार लाग्नु अहिलेको अपरिहार्य आवश्यकता रहेकोमा उनले जोड दिएका छन्। ‘नागरिमा देखिएको डर त्रास हटाएर, शान्त वातावरण, कानुनी राज्यको प्रत्याभूति दिनु अहिलेको प्रमुख आवश्यकता हो’, उनले भने। उनले शान्त, सुरक्षित र लगानीमैत्री वातावरण निर्माण गर्न गण्डकी सरकार प्रयासरत रहेको पनि बताए।
मुख्यमन्त्री पाण्डेले संघीय सरकारले गरेको हस्तक्षेपलाई सच्याएर ल्याइएको दाबी गरे। सरकारी खर्च कम गर्न संघीय सरकारले स्वकीय सचिवहरू हटाउने निर्णय लागु गर्न भन्दै प्रदेशलाई गरेको परिपत्रबारे प्रसंग निकाल्दै उनले भने, ‘प्रदेश सरकारको कानुनमाथि हस्तक्षेप हुने गरी संघीय सरकारको परिपत्रलाई मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग संवाद गरी सच्याएर ल्याउन सफल भएका छौं। अब यसलाई प्रदेशको कानुनबमोजिम लागु गर्ने गरी अगाडि बढाइने उनले बताए। संघीय सरकारले मुख्यमन्त्री तथा प्रदेश प्रमुखको स्वकीय सचिवबाहेक सबै तथा प्रदेशसभा सदस्यहरूको स्वकीय सचिव खारेज गर्न परिपत्र गरेको थियो।
मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनले दल र तिनका नेताहरूलाई गहिरो आत्मसमीक्षाको सन्देश दिएको बताए। युवा पुस्ताको व्यावहारिक आकांक्षा र भावना समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट देशमा आइपरेको संकटको दीर्घकालीन समाधान गर्नुपर्ने उनले बताए। तर जेनजी आन्दोलनका क्रममा भएका फौजदारी घटना, आक्रमण, लुटपाट तथा तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।
उनले जेनजी आन्दोलनपश्चात् नागरिकमा डर त्रास बढेको, पर्यटनको राजधानी पोखराका होटल तथा रिसोर्टहरूमा जेनजी आन्दोलनका नाममा भएको तोडफोड तथा आगजनीले लगानीको वातावरण धमिलिएको टिप्पणी गरे। उनले घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले निश्पक्ष रूपमा छानबिन गर्ने विश्वास व्यक्त गरे। साथै उक्त छानबिनमा देखिएका दोषीलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए।
बैठकमा उनले जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा तीनजनाको ज्यान गएको प्रदेशसभालाई जानकारी गराए। सो क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी गरी ७० जनाभन्दा बढी घाइते भएको उनले बताए। त्यस्तै गण्डकी प्रदेशका सात जिल्लामा रहेका एक सय ३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुर्याएको पनि बताए।
उनका अनुसार गण्डकीमा एक सय ६१ वटा चारपांग्रे तथा तीन सय ६१ वटा दुईपांग्रे सवारी साधनमा आगजनी भएका छन् भने ३१ वटा चारपांग्रे तथा सातवटा दुईपांग्रे सवारी साधन तोडफोड भएका छन्। तीनवटा दुईपांग्रे सवारी साधन भने हराएको उनले जानकारी दिए। मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण सरकारीतर्फ दुई अर्ब तथा निजीतर्फ करिब तीन अर्ब रुपैयाँबराबरको क्षति भएको जानकारी गराए।
प्रकाशित: २५ कार्तिक २०८२ ०८:४२ मंगलबार





-1200x560-600x400.jpg)