नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने बताएका छन् । महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायको रूपमा स्वीकार नगर्ने प्रवृत्तिले एमाले ‘अन्त्यहीन बहस क्लब’मा रूपान्तरण हुने खतरा रहेको बताए ।
महाधिवेशन सम्पन्न भएलगत्तै केही नेताहरूले अलग्गै भेला गरेको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले यस्ता गतिविधि अपेक्षित नभएको प्रतिक्रिया दिए । उनका अनुसार महाधिवेशनले गरेका निर्णय अन्तिम मानिनुपर्छ र त्यसपछि पनि ‘मुद्दा कायमै’ राख्ने हो भने पार्टी एकता, अनुशासन र राजनीतिक प्रभावशीलता कमजोर हुँदै जान्छ। ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको फैसला पनि अन्तिम नमानिने हो भने पार्टी अन्त्यहीन बहसको थलो बन्छ,’ ज्ञवालीको भनाइ छ।
उनले एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको प्रमुख कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नहरूको उत्तर दिनु रहेको स्पष्ट पारे। महाधिवेशनले ती सबै प्रश्नहरूको स्पष्ट र द्विविधारहित जवाफ दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको उनको भनाइ छ।
'एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो- केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न, महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ', ज्ञवालीको धारणा छ ।
महाधिवेशनअघि उठाइएका मुद्दा बोकेर अझै पनि ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’को बाटोमा हिँड्नु पार्टीका लागि निरर्थक हुने ज्ञवालीको ठहर छ। यस्तो अभ्यासले पार्टीलाई कुनै गन्तव्यमा नपुर्याउने उनले टिप्पणी छ । 'अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिँदैन', ज्ञवालीको स्पष्ट धारणा छ ।
ज्ञवालीले छोटो अवधिमै पार्टीलाई संगठित र स्थिर अवस्थामा ल्याउन सफलता मिलेको दाबी गर्दै अब एमालेको ध्यान ठूला राष्ट्रिय जिम्मेवारीतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।
‘तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्राएर एउटा बिन्दुमा ल्याइपुर्याएका छौँ तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ, अब हाम्रो समग्र ऊर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ? ’ उनले प्रश्न गरे ।
अब पार्टीको समग्र ऊर्जा आन्तरिक विवादभन्दा बाहिर निस्केर यिनै राष्ट्रिय एजेन्डामा केन्द्रित हुनुपर्ने ज्ञवालीले बताए ।
प्रकाशित: ७ पुस २०८२ १९:३४ सोमबार





