३ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

आन्तरिक प्रतिस्पर्धालाई एमाले फुट्यो भनेर भ्रम फैलाइयो: सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र पहलकदमी आवश्यक रहेको बताएका छन् ।

सेन्टर फर पब्लिक पोलिसी रिसर्चद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले पार्टीको मजबुतीका लागि लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले पहलकदमी र प्रतिस्पर्धाको बाटोबाट अगाडि जानुपर्छ । पार्टीभित्र र बाहिर पनि प्रतिस्पर्धाको बाटोबाटै जानुपर्छ । यसले सकारात्मक धारणा विकास गर्न मद्दत गर्छ ।’

पाण्डेले एमालेभित्रको प्रतिस्पर्धाले पार्टी फुटेको भन्ने धारणा भ्रमपूर्ण रहेको दाबी गरे । ‘केही साथीहरूलाई अहिलेपनि एमालेभित्रको प्रतिस्पर्धाले पार्टी फुटेको भन्ने भ्रम छ । तर, वास्तवमा प्रक्रियाबाट हाम्रो एकता भएको हो । अनौपचारिक लेनदेन र सेटिङजस्ता प्रवृत्तिबाट एकता भएको देखिँदा लोकतान्त्रिक अभ्यास कमजोर बन्यो र पार्टी विभाजनको अवस्थामा पुग्यो,’उनले भने ।

कार्यक्रममा उनले अन्य पार्टीबाट आएका व्यक्तिहरूका लागि उमेर हद हटाउने निर्णयबारे पनि चर्चा गरे । ‘हामीले अन्य पार्टीबाट आएका साथीहरूका लागि उमेर हद हटाएका थियौँ। कार्यकालको कुरा पनि उठेको छ । कसैको क्षमता छ भने उसले दुई कार्यकालभित्र सबै काम गर्न सक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने छैन,’पाण्डेले भने ।

पाण्डेले पार्टीलाई मजबुत बनाउन आन्तरिक लोकतन्त्रको अभ्यास र संस्थागत प्रक्रियामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित: १६ भाद्र २०८२ १८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App