वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाइँले देशको समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिएका छन्।
नेपाल वातावरण पत्रकार समूह र अर्थ जर्नालिजम नेटवर्कको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले दुवै विषयसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी हाल आफूले सम्हालेको र सोहीअनुसार समन्वय गरिरहेको जानकारी गराए।
मन्त्री चौलागाईंले मुलुक समृद्धि र जनताको आयआर्जन वृद्धिका लागि प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिँदै यसमा सञ्चार क्षेत्रको समन्वयकारी भूमिका महत्त्वपूर्ण हुने बताए।
उनले जनतालाई सुशासनको प्रत्याभूति प्रदान गर्न तीनै तहका सरकार र सरोकारवाला निकाय सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने र भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे।
मन्त्री चौलागाईंले भने, ‘तीनै तहका सरकारबीच संविधानअनुसारको सहकार्य र समन्वयको मर्र्म आत्मसाथ नहुँदा सङ्घीयता दिगो हुनसक्दैन, त्यसैले सबै तहका सरकारले आफ्नो जिम्मेवारी अनुसार कर्तव्य निर्वाह गर्नु आवश्यक छ।’
कार्यक्रममा नेपालस्थित युरोपियन युनियनका राजदूत भेरोनिक्यू लोरेञ्जोले वातावरण संरक्षण गर्न, विपद्का समयमा जनताका आवाज बुलन्द गर्न र जनताका मुद्दा सरोकारवालासम्म पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए।
प्रकाशित: २८ माघ २०८२ २०:१९ बुधबार





