राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले देशमा बन्द रहेका उद्योग र कलकारखानाहरू अब जुनसुकै हालतमा सञ्चालन हुनुपर्ने बताएका छन्।
शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले व्यंग्यात्मक शैलीमा नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै अब देशभर सयौँ उद्योगहरू चल्नुपर्ने बताएका हुन्।
बन्द रहेको हेटौँडा सिमेन्ट कारखानासँग तुलना गर्दै नेता शाहले स्रोतसाधन भएर पनि देश अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरे।
‘हाम्रो देश अहिले हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ। त्यहाँ मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ तर बन्द छ,’ शाहले भने, ‘अब चल्नुपर्यो। नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै अब त्यो पनि चल्नुपर्यो। पुरै देशभरि चल्नुपर्यो, सयवटा भन्दा बढी देशमा जानुपर्यो।’
उनले देशका उद्योग कलकारखानाहरूलाई चलायमान बनाउने र रोजगारी सिर्जना गर्ने पार्टीको रूपमा रास्वपा अघि बढ्न चाहेको स्पष्ट पारे।
चुनाव र अभियानका क्रममा आफूले देशभरका ४५-५० वटा जिल्लामा पुगेर करिब ७-८ हजार किलोमिटर यात्रा गरेको अनुभव सुनाउँदै शाहले देशका समस्याहरू लगभग उस्तै रहेको बताए।
‘देशभरि घुम्दा कृषि र पर्यटन क्षेत्रका समस्याहरू उस्ताउस्तै रहेछन्। तर एउटा गजबको गुड न्युज के छ भने, एउटा जिल्लामा भएको समस्याको समाधान अर्को जिल्लामा, देश भित्रै रहेछ,’ उनले भने, ‘त्यो समाधान मिलाउने र देश बनाउने पार्टी बन्न चाहन्छ रास्वपा।’
सम्बोधनका क्रममा नेता शाहले चितवनवासीका समस्या समाधान गर्न सिङ्गो पार्टी प्रतिबद्ध रहेको बताए। रास्वपाका सभापति रवि लामिछाने चितवनबाटै प्रतिनिधित्व गर्ने भएकाले विकास निर्माण र अन्य समस्यामा चिन्ता नलिन उनले आग्रह गरे।
‘यहाँ आएर तपाईंहरूलाई भेट्दा धेरै खुसी लाग्यो। तपाईंहरू किन टेन्सन लिनुहुन्छ ? पार्टीको सभापति नै यहींबाट उठ्नुभएको छ,’ उनले भने, ‘तपाईंहरूका समस्या र पुरै देशको समस्या हामी सबै मिलेर समाधान गर्ने हो, अब देश बनाउने हो।’
प्रकाशित: १५ फाल्गुन २०८२ १५:५३ शुक्रबार





