अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई विभागको नेतृत्व सुम्पिएका हुन् । उनी यसअघि महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए । मंसिर ४ गते उनको अर्थ मन्त्रालयमा सरुवा भएको थियो ।
यसअघि विभागको महानिर्देशक रहेका निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएपछि उक्त पद रिक्त थियो । सोही रिक्त पदमा यादवलाई जिम्मेवारी दिइएको हो ।
यसैबीच, अर्थमन्त्री वाग्लेले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखाका रूपमा खटाउने निर्णय गरेका छन् । मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएकी शर्मालाई उक्त जिम्मेवारी दिइएको हो ।
महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएपछि शर्मालाई त्यहाँ खटाइएको हो ।
प्रकाशित: १० मंसिर २०८३ १८:२० बिहीबार





