१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस एक भए कसैको तागतले हराउन सक्दैन: शशांक कोइराला

नेपाली कांग्रेसको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका अधिवेशन र महाधिवेशनलाई नेतृत्व परिवर्तन र प्रतिस्पर्धाको मात्र नभई संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

कांग्रेसको १५औं नियमित महाधिवेशनअन्तर्गत पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले अधिवेशनलाई एकताको अवसरका रूपमा उपयोग गर्न सके पार्टीलाई कसैले कमजोर बनाउन नसक्ने बताएका हुन्।

‘पार्टी अधिवेशन र महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिस्पर्धा हुन्छ। यो स्वाभाविक हो,’ कोइरालाले भने, ‘तर हामीले अधिवेशन-महाधिवेशनलाई पार्टी एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ।’

कांग्रेस एकताबद्ध भए सबै चुनावमा बलियो बन्ने उनको दाबी छ। ‘कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन। वडादेखि केन्द्रसम्मका अधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अभियानका रूपमा उपयोग गर्न सके सबै चुनावमा कांग्रेस बलियो बन्छ,’ उनले भने, ‘पद एउटा हुन्छ, आकांक्षा राख्ने साथी धेरै हुन्छन्। हामीले अधिवेशनमा पार्टीलाई एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ।’

कोइरालाले २०३३ सालमा बीपी कोइराला नेपाल फर्कँदा गणेशमान सिंहले फरक मत राखेको प्रसंग उल्लेख गर्दै नेताले गरेको निर्णय सबैले पालना गर्नुपर्ने बताए।

‘३३ सालमा बीपीको नेपाल फर्कने निर्णयमा गणेशमानजी सहमत हुनुहुन्थेन,’ उनले भने, ‘तर बीपीले नेपाल फर्कने निर्णय गरेपछि गणेशमानजीले बीपी मेरो नेता हो, उहाँले निर्णय गरेपछि मान्नु मेरो दायित्व हो भन्दै नेपाल फर्कनुभयो।’

बीपी कोइरालाको बाटोमा हिँड्न सके कांग्रेस र मुलुकलाई सबै संकटबाट पार लगाउन सकिने उनको भनाइ छ।

उनले भने, ‘बीपीले लिएको बाटो भनेको उहाँको अडान, निर्णय गर्ने शैली, साथीहरूका कुरा सुन्ने धैर्यता र परिस्थितिको विश्लेषण गर्ने तरिका हो। यी कुरा पछ्याउन सके जस्तोसुकै संकटबाट पनि पार पाउन सकिन्छ।’

प्रकाशित: १० मंसिर २०८३ १८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App