राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन नजिकिँदै गर्दा पार्टीका तीन केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् ।
पार्टी छाड्नेमा सहायक महामन्त्री हरिकृष्ण अधिकारी तथा केन्द्रीय सदस्यद्वय मधुसुदन केसी र सरस्वती पन्थी भुसाल रहेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा राप्रपामा समाहित हुनुको उद्देश्य पार्टीको परम्परागत राजनीतिक अभ्यासलाई निरन्तरता दिनु नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्नु रहेको उल्लेख गरिएको छ ।
‘पार्टीभित्र नयाँ राजनीतिक संस्कार, सामूहिक नेतृत्व, पारदर्शिता र जवाफदेहिताको अभ्यास स्थापित गर्न सकिन्छ भन्ने विश्वास लिएका थियौँ,’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।
पार्टी छाड्ने निर्णय गरे पनि आफूहरू राजनीतिक विचार र मान्यताबाट अलग नभएको उनीहरूले स्पष्ट पारेका छन् ।
प्रकाशित: १० मंसिर २०८३ १८:११ बिहीबार





