१० मंसिर २०८३ बिहीबार
image/svg+xml
समाज

ईनम सापकोटा थप पाँच दिन थुनामै रहने

ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले बिहीबार ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका एक अधिकृतका अनुसार तीनै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थप गरिएको हो ।

ईनमसँगको सम्बन्ध देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

प्रहरीले ईनमविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ । श्रेष्ठ र भट्टमाथि भने सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनमलाई पक्राउ गरेको थियो ।

प्रकाशित: १० मंसिर २०८३ १७:५९ बिहीबार