२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

दिनभर ‘भूमिगत’ गुप्ता साँझ मन्त्रिपरिषद् बैठकमा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले अटेर गरेका छन्। घुस प्रकरणमा मुछिएपछि सोमबार बिहान बालुवाटार बोलाएर प्रधामन्त्री ओलीले गुप्ताको कुरा सुनेर तत्काल राजीनामा दिई सहजीकरण गर्न आग्रह गरे पनि उनले अटेर गरेका हुन्।

‘प्रधानमन्त्रीज्यूले सहजीकरण गरिदिनुस् भन्नुभएको थियो तर अहिलेसम्म राजीनामा आएको छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। प्रधानमन्त्री ओलीलाई भेटेर फर्केपछि दिनभर उनी मोबाइल स्विच अफ गरेर बसेका थिए। प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद् बैठकमा भने उनी उपस्थित थिए। ‘उहाँ दिनभर हराउनुभयो, बेलुका मन्त्रिपरिषद् बैठकमा भने देखिनुभयो,’ एक मन्त्रीले भने। एमालेका धेरैजसो नेता–कार्यकर्ताहरूले गुप्ताले राजीनामा दिएर सहजीकरण गर्नुपर्ने बताइरहेका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेका छैनन्। ‘उहाँले बुझ्ने भाषामा सहजीकरण गर्न आग्रह गर्नुभएको हो तर साँझ बैठकमा देखिनुभयो,’ ती मन्त्रीले भने।

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता घुस प्रकरणमा मुछिएका छन्। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी गरिएपछि उनले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो। 

अडियोसहितको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरिसकेको छ। अख्तियारमा असार १० गते नै उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको कुरा गरिरहेको सुनिन्छ । कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र यही भूमि आयोगका जिल्ला अध्यक्ष नियुक्तिको विषयमा घुस डिल भइरहेको अडियोमा सुनिन्छ।

मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ लिएको उजुरी पर्नुका साथै केही रकम डिल भइरहेको पनि अडियोमा सुनिएको छ। ‘खेम पुनका लागि के। २० बुझाइदिन्छु के। भन्दिनू त बलरामलाई। भन्दिनू त मन्त्रीज्यू,’ बिचौलियाको आवाज अडियोमा सुनिएको छ। प्राप्त अडियोमा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको पनि बुझिन्छ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले पनि घुस प्रकरणमा मुछिएका गुप्तालाई पदबाट हटाएर छानबिन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। एमाले सचिव योगेश भट्टराईले मात्र होइन, कांग्रेस महामन्त्री गगन थापाले पनि छानबिन गर्न माग गरेका छन्। महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँटसमेत मन्त्रीले गर्न नसकेको जिकिर गरेका थिए। यद्यपि प्रधानमन्त्री ओलीको निर्देशन गुप्ताले मानेका छैनन् भने ओलीले पनि बर्खास्त गर्न सकेका छैनन्। तर मन्त्री गुप्ताले आफूले कुनै गल्ती नगरेको र कसैको एक कप चिया पनि नखाएको जिकिर गरिरहेका छन्। उनले कसैको एक चिया खाएको पाइए मन्त्री र सांसद पद नै छाडिदिने बताएका छन्। उनले आफूलाई फसाउन विभिन्न आरोप लगाइएको बताएका छन्। 

गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि मुछेका थिए। त्यसै विषयलाई लिएर मन्त्री अधिकारीले सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिनुपरेको थियो। मन्त्री अधिकारीले आफू काठमाडौंबाहिर रहेको र सोमबार मात्रै आएको बताउँदै भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिसम्बन्धी घुस डिलमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त गर्ने विषयमा अरू कसैले कुरा गरेको आधारमा आफूलाई मुछ्‌ने काम भएको बताएका थिए।

हल्लाका आधारमा नभई तथ्यका आधारमा सत्यको खोजी गर्न आग्रह गर्दै उनले भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको बताए। संसद्‌मा भने अधिकारीलाई सांसदले घुसको कारोबार भएको अडियो सार्वजनिक भएको भन्दै यथार्थ के हो भन्दै प्रश्न गरिएको थियो। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी सांसदले मन्त्री गुप्तासँगको घुसको कारोबार भएको अडियो सार्वजनिक भएको र उक्त अडियोमा मन्त्री अधिकारीको पनि संलग्न रहेको भनी खबर बाहिरिएको भन्दै उनलाई प्रश्न सोधिएको थियो।

‘म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यथार्थता बुझेर हामीले बोल्ने गरौं किनभने सत्यको आधारमा तथ्य फेला पर्छ र त्यसलाई अगाडि बढाउनुपर्छ। हामी गरिमामय सदनमा एउटा नीति बनाउने ठाउँमा भएका व्यक्तित्वले हल्लाका भरमा हिँड्नु उचित हुँदैन र मैले सबैलाई यही अनुरोध गर्न चाहन्छु। भूमि व्यवस्था मन्त्री या मन्त्रालयका कुनै व्यक्तिले कुनै आयोगको अध्यक्ष वा सदस्यसँग कुनै डिलिङ गरेको, पैसा लिएको तपाईंहरूले थाहा पाउनुभयो भने सम्बन्धित व्यक्तिलाई प्रमाणसहित ल्याउनुहोस्, म आफैं पनि कारबाही सहन तयार छु। तर यथार्थमा आधारित भएर बोलिदिन अनुरोध गर्छु,’ मन्त्री अधिकारीले भने।

प्रकाशित: ३१ असार २०८२ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App