१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल

अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो कार्यक्षेत्रको सीमा नाघ्दै नेपालको परराष्ट्र नीतिको आधार कमजोर पार्ने अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।

नेपाल–भारत सम्बन्धबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले यस्तो टिप्पणी गरेका हुन्। उनले अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको सार्वभौमिकताको गरिमा कमजोर पार्नुका साथै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई उपहासको विषय बनाएको बताए।

नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उनले यसलाई कुनै व्यक्तिको स्वेच्छा वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउन नहुने बताए। कुनै पनि पदाधिकारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर हुने गरी अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।

'अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघेको देखिन्छ। उनले दिएका अभिव्यक्तिले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको आधारलाई नै विकृत पार्ने जोखिम उत्पन्न गरेका छन्,' उनले भनेका छन्, 'यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमिकताको गरिमा कमजोर पार्नुका साथै नेपाल र भारत दुवै देशले उच्च महत्त्व दिँदै आएको लामो समयदेखिको सम्बन्धलाई समेत उपहासको विषय बनाउँछ।'

हमालले नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यसलाई थप सुदृढ बनाउने प्रयासको स्वागत गर्नुपर्ने बताएका छन्। तर, त्यस्तो प्रयास गर्दा नेपाली प्रतिनिधिहरूले उचित कूटनीतिक विवेक प्रदर्शन गर्नुपर्ने र नेपालको राष्ट्रिय धारणा गरिमा तथा सन्तुलनका साथ प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक र रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको भन्दै हमालले यसलाई व्यक्तिगत ताबेदारी वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्न नहुने बताएका छन्।

'नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त महत्त्वपूर्ण र रणनीतिक दृष्टिले संवेदनशील छ। यसलाई व्यक्तिगत ताबेदारीका हाउभाउ वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्नु हुँदैन,' उनले भने।

हमालले नेपाल–भारत सम्बन्धमा रहेका समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताका विषयलाई पनि ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। सरकारले आफ्ना धारणा स्पष्ट र एकरूपताका साथ प्रस्तुत गर्दै भाषणबाजीभन्दा स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

छिमेकीसँगको मित्रता र राष्ट्रिय सार्वभौमिकताको रक्षा एकअर्काका प्रतिस्पर्धी उद्देश्य नभई परिपूरक दायित्व भएको हमालको भनाइ छ। स्वतन्त्र पहिचान र राष्ट्रिय हितप्रति स्पष्ट अडान राखेरै नेपाल भरपर्दो अन्तर्राष्ट्रिय साझेदार बन्न सक्ने उनले बताएका छन्।

'नेपाल स्वतन्त्र राष्ट्र भएकै कारण आफ्नो पहिचानप्रति विश्वस्त र राष्ट्रिय हितबारे स्पष्ट रहँदै भरपर्दो साझेदार बन्न सक्छ र बनेको छ,' उनले भने।

प्रकाशित: १० कार्तिक २०८३ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App