दुबईमा २४ क्यारेट सुनले बनेको सडक खोल्ने तयारी गरिएको छ।
दुबई गोल्ड डिस्ट्रिक्टले यस वर्षको अन्त्यअघि पर्यटकका लागि यस्तो सडक खुला गर्ने घोषणा गरेको हो। गोल्ड डिस्ट्रिक्टका वरिष्ठ निर्देशक राशिद अल हरमौदीका अनुसार यो सडक आगामी दुई महिनाभित्र खुल्नेछ। यो आफ्नो प्रकारको पहिलो र विश्वकै सबैभन्दा लामो सुनको सडक हुने उनको दाबी छ।
अल हरमौदीका अनुसार सुनको सडक दुबईलाई प्रमुख पर्यटकीय गन्तव्य र विश्वव्यापी सुन व्यापारको केन्द्रका रूपमा थप स्थापित गर्ने योजनाको हिस्सा हो। यस सडकमा पर्यटकले सुनको बाटोमा हिँड्ने नयाँ अनुभव लिन पाउनेछन्। यद्यपि, सडकको वास्तविक लम्बाइ र निर्माणमा सुन प्रयोग गर्ने प्राविधिक विवरण भने सार्वजनिक गरिएको छैन।
सुनको सडक खोल्ने घोषणा दुबईमा १६.५१४ किलोग्राम तौलका सुनका झुम्काले दुई वटा गिनिज वर्ल्ड रेकर्ड बनाएको अवसरमा गरिएको थियो। जोयअलुक्कास ज्वेलर्सले हातैले बनाएका परम्परागत भारतीय शैलीका ‘झुम्का’ ले सबैभन्दा भारी सुनका झुम्का र विश्वकै सबैभन्दा ठुलो जोडी झुम्काको कीर्तिमान बनाएका हुन्।
‘सहस्र माइल’ अर्थात् ‘एक हजार मयूर’ नाम दिइएका यी झुम्का मयूरबाट प्रेरित डिजाइनमा तयार पारिएका हुन्। २२ क्यारेट सुनबाट बनाइएका झुम्काको खुद तौल १६.५१४ किलोग्राम छ। अघिल्लो विश्व कीर्तिमानभन्दा पाँच गुणाभन्दा बढी तौलका यी झुम्का बनाउन दक्ष कालिगडलाई महिनौँ लागेको थियो।
संयुक्त अरब इमिरेट्सका अर्थतन्त्र तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तौक अल मारीले दुबई गोल्ड डिस्ट्रिक्टस्थित जोयअलुक्कासको शोरुममा झुम्का सार्वजनिक गरेका थिए। कार्यक्रममा गिनिज वर्ल्ड रेकर्ड्सका प्रतिनिधिले जोयअलुक्कास समूहका अध्यक्ष जोय अलुक्कास र जोन पल अलुक्कासलाई दुई वटा कीर्तिमानका प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
जोय अलुक्कासले दुबईमा सुनका झुम्काले दुई विश्व कीर्तिमान बनाउनु विश्वव्यापी उपलब्धि भएको बताएका छन्। यी झुम्का बिक्रीका लागि राखिने छैनन्। तिनलाई कलाकृतिका रूपमा संरक्षण गरी दुबईमै स्थायी रूपमा प्रदर्शन गरिनेछ।
दुबईको देइरास्थित गोल्ड डिस्ट्रिक्टमा सुन तथा गहनासहित अत्तर, सौन्दर्य सामग्री र जीवनशैलीसँग सम्बन्धित सामानका एक हजारभन्दा बढी खुद्रा व्यवसायी छन्। यस वर्षको सुरुदेखि यहाँ सुनको थोक कारोबार गर्ने कार्यालयको संख्या २० प्रतिशत र सुन, गहना, बहुमूल्य पत्थर तथा महँगा घडीमा विशेषज्ञता भएका नयाँ पसलको संख्या १५ प्रतिशतले बढेको बताइएको छ।
गोल्ड डिस्ट्रिक्टमा मध्यपूर्वकै ठुलो सुन तथा गहना व्यापार प्रदर्शनी आयोजना गर्ने योजना पनि अघि बढाइएको छ। बढ्दो मागलाई सम्बोधन गर्न क्षेत्र विस्तारको काम भइरहेको छ। अल हरमौदीले आगामी वर्ष यस क्षेत्रमा स्थानान्तरण हुने कम्पनीको संख्या १० देखि २० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेका छन्। जसअन्तर्गत थप कार्यालय र खुद्रा पसलका लागि ठाउँ उपलब्ध गराउने तयारी पनि भइरहेको छ।
प्रकाशित: १० कार्तिक २०८३ १०:३५ मंगलबार




-600x400.jpg)
