एक ‘बेदाग नेताको गुमनाम मृत्यु’ भएको छ । नेपालको इतिहासमा सम्भवतः सबै भन्दा लामो समय र सबै भन्दा धेरै मन्त्रालयमा मन्त्रीका रुपमा सेवा गरेका एक स्वच्छ छवि बनाएका नेता बालाराम घर्ती मगरको शुक्रवार ८८ वर्षको उमेरमा मृत्यु भएको हो। १९९४ साल साउन १८ गते रोल्पा मिझिङ ५ उपल्लो थरमा जन्मिएका घर्ती मगर विगत केहि बर्ष यता काठमाडौँ बस्दै आएका थिए ।
आफू सत्तामा रहँदा जिल्लालाई मात्र नभएर समग्र मुलुकका लागि उनले खेलेको भूमिका बेलाबेलामा चर्चामा आउने गर्दछ । ३६ वर्षको उमेरमा गृह सहायक मन्त्रीबाट सुरु भएको घर्ती मगरको मन्त्री यात्रा बहुदल कालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा समेत निरन्तर रह्यो । २४ वर्षको उमेरमा प्रधानपञ्चको जिम्मेवारी निर्वाह गरेको उनी जिल्ला पञ्चायत उपसभापति समेत भएका थिए ।
पञ्चायत कालमा ३० वर्षसम्म निरन्तर जनप्रतिनिधित्वका रुपमा र दर्जन बढी पटक मन्त्री बनेर काम गरे । बहुदलीय व्यवस्थामा पनि ८ वर्ष जनप्रतिनिधि रहे । गृह सहायक मन्त्री देखि निर्माण तथा यातायात, रक्षा, विज्ञान प्रविधि, भौतिक, आपूर्ति, उद्योग मन्त्री लगायतका जिम्मेवारीहरू सम्हालेका थिए । उनले जीवनकालमा सात पटक निर्वाचन जितेका थिए भने राष्ट्रियसभामा समेत मध्यपश्चिमाञ्चल क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए ।
उनको राजनीतिक जीवनमा नेपालको सामाजिक, शैक्षिक र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान छ । उनले रोल्पा र आसपासका जिल्लामा शिक्षा र समृद्धि ल्याउन विद्यालय खोल्न, सडक निर्माण लगायत थुप्रै परियोजनाहरू अगाडि बढाएका छन् भने रोल्पा जस्ता पहाडहरु जिल्लामा झोलुङ्गे पुलले बस्ती जोड्न ठुलो योगदान थियो । साथै, उनले लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकतालाई आकर्षित गर्ने प्रयास गरेका छन् ।
२०१९ माघमा जिल्ला पञ्चायतको चुनाव भयो । नारायणप्रसाद चन्द सभापति र बालाराम घर्ती मगर उपसभापति निर्वाचित भए । उनले जीवनमा जम्माजम्मी ७ पटक निर्वाचन जितेका थिए । दाङको मानपुर, सल्यान, प्युठान र तीन पटक रोल्पामै जिते । प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य, मन्त्रीदेखि राजपरिषद् सदस्यको रोचक यात्राको अनुभव थियो । उनले आधा दर्जन पुस्तक समेत प्रकाशन गरेका छन् ।
सात वटा प्रधानमन्त्रीसँग काम गरेका उनले मन्त्री कति पटक बनियो भनेर कहिल्यै नगनेको बताउँथे । नगेन्द्र प्रसाद रिजाल, डा. तुलसी गिरी, सूर्यबहादुर थापा, कृतिनिधि बिष्ट, मरिचमान सिंह श्रेष्ठ, लोकेन्द्र बहादुर चन्द र दुई पटक शेरबहादुर देउवाको मन्त्री परिषदमा रहेर काम गरे । राजाले बोलेका कुरा समेत प्रतिवाद गर्ने क्षमता भएका कारण राजा महेन्द्र र राजा बिरेन्द्रको प्रिय पात्र थिए ।
उनै सादगी बेदाग नेताको शुक्रबार काठमाडाैंमा गुमनाम अन्त्य भएको छ । जिल्लामा उनको मृत्युको खबर दिउसो अलि अबेर मात्र फैलियो । सञ्चार माध्यममा अलिबेरमा आएका खबरले धेरै रोल्पालीलाई झस्काएको थियो । ठाँटबाट सान सौकत बिना आफ्नो दैनिकी चलाइरहेका उनै बालाराम घर्ती मगरको मृत्युको खबरले रोल्पा रोएको छ । दुखेको छ ।
विपक्षी समेतले उनको योगदानलाई भुल्न नहुने बताए । ‘रोल्पाको मात्र नभएर देशकै स्थापित नेतृत्व बालाराम घर्ती मगरले दल भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियताको पक्षमा इमानदारिताका साथ आफ्नो भूमिका निभाउनु भएको थियो ।’ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एव रोल्पाली नेता कृष्णबहादुर महराले थपे ‘सधैभरि जनताको सेवामा लागिरहने राजनीतिक व्यक्तित्वको निधनले ठुलो क्षति भएको छ ।’
‘बालाराम घर्ती कुनै व्यवस्था वा दलको मात्र नभएर रोल्पाका अभिभावक हुनुहुन्थ्यो । रोल्पालाई रोल्पा बनाउन उहाँको जति योगदान अरूले दिन सकेको पाइँदैन ।’ नेकपा एमाले प्रतिनिधि सभा सांसद तथा रोल्पाली नेता ईश्वरी जिएमले नागरिक सँग कुरा गर्दै थपिन ‘पद लोलुपता नराखेर दैनिकी चलाएका घर्ती मगरले रोल्पालीले बिर्सनै नहुने योगदान दिनुभएको छ । जिल्लाले मात्र नभएर देशले नै अभिभावक गुमाएको छ ।’
कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा रोल्पाली नेता अमरसिंह पुनले बालाराम घर्ती मगरको रोल्पा प्रतिको माया मोह र उहाँको नेतृत्व दलगत भन्दा माथि उठेको बताए । ‘उहाँको राजनीतिक कल्चरको सिको हामीले पनि गर्नु पर्ने छ । रोल्पाले कुशल अभिभावक गुमाएको छ । उहाँलाई गुमाउनु रोल्पालाई मात्र नभएर देशलाई नै ठुलो नोक्सान हो ।’
प्रकाशित: २७ असार २०८२ १६:५४ शुक्रबार


-600x400.jpg)


