२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पामा प्रचण्डले भने: जिताएर पठाए वर्षमानको जिम्मा आफैं लिन्छु

नेकपाका संयोजक पुष्पकमल दाहालले रोल्पाको सदरमुकाम लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वर्षमान पुनलाई विजयी गराउन मतदातासँग अपिल गरेका छन्। उनले भने, ‘यो पटक हतियार होइन, मतपत्रको शक्तिसहित जनतामाझ आएका छौँ। तपाईंहरूले वर्षमानलाई जिताएर पठाउनुहोस्, उहाँको जिम्मा म लिन्छु।’

रोल्पालाई गौरवशाली इतिहास बोकेको भूमि भन्दै दाहालले जनयुद्ध र गणतन्त्र स्थापनामा यस क्षेत्रको भूमिका स्मरण गरे। ‘जनवादको इतिहास रोल्पाले बनाएको हो। म यहीँबाट जितेर गणतन्त्र नेपालको प्रधानमन्त्री बनेँ,’ उनले भने। देश अप्ठ्यारोमा पर्दा रोल्पा–रुकुमलाई आधार इलाका बनाएर आन्दोलन अघि बढाएको उल्लेख गर्दै उनले अहिलेको निर्वाचनलाई अघिल्लाभन्दा फरक र संवेदनशील भएको दाबी गरे।

भदौ २३ र २४ गतेका घटनालाई उनले ‘विदेशी प्रतिक्रियावादी दलालको चलखेल’ को परिणाम भन्दै ती शक्तिविरुद्ध अभियान आवश्यक रहेको बताए। जनयुद्ध र गणतन्त्रबाट स्थापित महिला, दलित, जनजाति, मुस्लिम, थारू तथा पिछडिएको वर्गका अधिकारमाथि प्रहार भइरहेको उनको आरोप थियो। ‘उपलब्धीमाथि प्रहार भइरहेको छ, त्यसको रक्षा गर्न फेरि एकजुट हुनुपर्छ,’ उनले भने।

दाहालले आगामी निर्वाचनपछि भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र शासकीय स्वरूप तथा निर्वाचन प्रणाली परिवर्तन गर्ने एजेन्डा अघि सारिने बताए। तेस्रो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारका फाइल खोल्न थालेपछि आफूलाई सरकारबाट बाहिरिन बाध्य बनाइएको उनको दाबी थियो। बिचौलियाको चलखेलका कारण सरकारबाट हटाइएको आरोपसमेत उनले लगाए।

कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महरा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, राष्ट्रियसभा सदस्य झक्कु प्रसाद सुवेदी, प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार वर्षमान पुन र समानुपातिक उम्मेदवार गीता गहतराजले पनि सम्बोधन गरेका थिए।

उम्मेदवार वर्षमान पुनले विगतमा रोल्पाको विकासका लागि उल्लेखनीय काम गरेको दाबी गर्दै आफू विजयको नजिक पुगेको बताए।

सभामा द्वन्द्वकालीन घाइते, बेपत्ता र अपांग पीडितको विषय संक्षेपमा उठाइए पनि संक्रमणकालीन न्यायका मुद्दामा विस्तृत धारणा सार्वजनिक गरिएन। यस्तै, राज्यका उच्च पदमा रहेकाहरूको तस्बिर मुख्य ब्यानरमा राखिएको भए पनि पूर्वसभामुख ओनसरी घर्तीको तस्बिर नसमेटिएको भन्दै केही स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए।

प्रकाशित: १६ फाल्गुन २०८२ १८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App